काठमाडौंः नेपाली कांग्रेसका महामन्‍त्री शशांक कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीका कारण गणतन्‍त्रभन्दा राजतन्‍त्र नै ठीक भन्‍ने जमात बढेको बताउनुभएको छ । बीपी कोइराला युवा नेतृत्व विकास मञ्‍चले मंगलबार ३८औं बीपी स्मृति दिवसका अवसरमा आयोजना गरेको “भर्चुअल” कार्यक्रममा महामन्त्री कोइरालाले राष्ट्रपति भण्डारीको क्रियाकलापले उनी नेपालको राष्ट्रपति नभई नेकपाको मात्र राष्ट्रपति भएको सन्देश गएको टिप्पणी गर्नुभयो ।

उहाँले आमनागरिकमा कमसेकम राजा त तटस्थ हुन्थे भन्‍ने मानसिकता देखिएको जिकिरसमेत गर्नुभयो । महामन्त्री कोइरालाले कांग्रेसको आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा इतरको समूहबाट एकजना मात्र सभापतिको उम्मेदवार हुने दाबि गर्नुभयो ।

आफूहरुको समूहबाट को सभापतिको उम्मेदवार बन्‍ने भन्‍ने छलफल भइरहेको पनि उहाँको भनाई थियो । कांग्रेसको नेतृत्व परिवर्तन गर्ने हो भने कसैले पनि म होइन हामी भनेर लाग्‍नुपर्ने कोइरालाको भनाइ थियो ।

कोइरालाले राजनीतिमा लागेपछि पार्टी सभापति हुने इच्छा सबैलाई हुने भन्दै अहिलेको अवस्थामा कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक रहेकाले सभापति देउवा इतरको पक्ष एक ठाउँ हुनुपर्ने बताउनुभयो।

उहाँले कांग्रेसको नेतृत्व परिवर्तनका लागि सबैले त्यागको भावना देखाउने बेला आएको पनि बताउनुभयो । कोइरालाले महाविधेशनको मिति तय भइसकेपछि महाधिवेशनलाई प्रभावित पार्न मात्र सभापति देउवाले विभाग बनाउन लागेको आरोप समेत लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस !