चितवनः नारायणी नदीको बहाब आज बिहान ४४ वर्ष यताको सबै भन्दा उच्च भएको छ । बिहान ९ वजे नदीको वहाब ९ दशमलब ९१ मिटर पुगेको थियो ।
देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलबिज्ञ ई. रामबिकेश रायका अनुसार त्यतिवेला नदीमा पानीको वहाब १४ हजार ७ सय ७९ घरमिटर प्रति सेकेण्ड रहेको थियो । यस अघि सन १९७४ अगष्ट ५ मा १० दशमलब १ मिटर पानीको तह र १५ हजार ३ सय घनमिटर प्रतिसेकेण्ड वहाब मापन गरिएको थियो ।
बिचको अबधिमा सन २०१८ को वर्षातमा १४ हजार घनमिटर प्रतिसेकेण्ड वहाब र तह ९ दशमलब ६ मिटर रहेको उहाँले जानकारी दिनुभयो । त्यतिवेला पानीको वहाब २७ वर्ष यताको सबैभन्दा वढि थियो । सन १९६३ देखि हाल सम्मको तथ्याङ्कलाई हेर्दा नारायणीको सिर तर्फका क्षेत्रमा सन १९७४ यताको सबैभन्दा बढि पानी परेको देखिन्छ । सन २०१३ मा १३ हजार घनमिटर प्रतिसेकेण्ड नारायणीको वहाब मापन भएको थियो ।
जलबिज्ञ रायले भन्नुभयो “४४ वर्षको अबधिमा नारायणी नदीमा पानीको वहाब आज विहान सबैभन्दा उच्च भएको देखिन्छ ।”जल विज्ञान बिभागका वरिष्ठ जलबिज्ञ बिक्रम श्रेष्ठ कोशी र नारायणीले खतराको तह नाघेको वताउनुहुन्छ । नारायणी नदीको खतराको तह आठ मिटर र वहाव ९ हजार ९ सय ९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसको चेतावनी तह ७ दशमलब ३ मिटर र ८ हजार ४ सय ६० घनमिटर प्रति सेकेण्ड रहेको छ ।
श्रेष्ठले आज पाँच देखि ७ घण्टा पानीको वहाब यहि अबस्थामा रहने बताउनुभयो । भोलिबाट क्रमश घट्दै जाने उहाँको भनाई छ । पहिलेका वर्षहरुमा ढिलो गरि मनसुन सक्रिय हुने गरेको भए पनि यस वर्ष छिटो मनसुन सुरु भएको थियो । गएको जाडो मौषम र प्रि मनसुनको समयमा औषध भन्दा वढि पानी परेका कारण अहिले पानी पर्ना साथै खोलाहरु वढ्ने र पहिरो जाने क्रम सुरु भएको उहाँको भनाई छ ।
नारायणी नदीमा मस्याङ्दी, त्रिशुली, सेती जस्ता ठूला नदी मिसिएको छ । मुग्लिनमा त्रिशुलीमा मस्याङ्दी, गाईघाटमा त्रिशुलीमा सेती मिसिएको छ भने देवघाटमा त्रिशुलीमा कालिगण्डकी मिसिएर नारायणी नदी वनेको हो । यी ठूला नदीहरुमा प्रसस्त साना नदीहरु मिसिएका छन् । नारायणीको सिर क्षेत्रमा कास्कि, स्याङ्गजा, गोर्खा, लम्जुङ्ग, रसुवा, नुवाकोट, धादिङ्ग लगाएतका जिल्ला रहेका छन् ।
जल तथा मौषम बिज्ञान कार्यालय पोखराका प्रमुख राजाराम ढकालका अनुसार गएको २४ घण्टामा कास्किमा १ सय १८ दशमलब ७ मिलिलिटर र गोर्खामा १ सय ४५ दशमलब ८ मिलिलिटर पानी मापन गरिएको थियो । त्यस क्षेत्रमा पानी वढी परेका कारण नारायणी नदीको वहाब उच्च भएको हो । नदी वढे संगै यसको प्रत्यक्ष प्रभाव चितवन र नवलपरासी जिल्लामा पर्दछ । नारायणी नदी किनारका बस्तिहरुमा पानी पसेपछि सोमबार साँझबाटै केही वस्तिहरुलाई स्थानान्तरण गरिएको छ ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १६,२६ र २७ मा नारायणी नदीको पानी पसेपछि त्यहाँको बस्ति स्थानान्तरण गरिएको थियो । नारायणी नदीमा पछिल्ला वर्षहरुमा लगाईएको ड्याकका कारण नदीको पानी बस्तिमा पस्नबाट धेरै हद सम्म जोगिएको स्थानीय वताउँछन् । नारायणीमा मिसिएको त्रिशुलीको वहाब उच्च भएर कटान गर्दा ईच्छाकामनाको फिस्लिङमा दुई तले घर सहित तीन घर बगाएको थियो ।

प्रतिक्रिया दिनुहोस !