
चितवनः पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डमा साना ठूला दुई सय भन्दा वढि पहिरो खसेका छन् । चितवन र धादिङ्ग जोड्ने मौवा खोलाको पुल र सडक जोड्ने भागनै वगाएको छ ।
सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख ई. कृष्णराज अधिकारीका अनुसार आज पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ । विहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ । उहाँले भन्नुभयो “मुग्लिन–नौबिसे सडक खण्डमा मात्र सानाठूला दुई सय भन्दा वढि पहिरो खसेका छन् । सबैभन्दा वढि समस्या मौवाखोलामा रहेको छ ।”
मौवा खोलामा पानीको वहाव घटेमा ग्याविन जालिमा ढुङ्गा भर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । जसका लागि नुवाकोटबाट जालि मगाईएको छ । बाटो अबरोध भएकाले आईपुग्न समय लाग्ने छ । बेलिब्रिज भन्दा यो सहज र छिटो हुने उहाँले बताउनुभयो । स्थानीय प्रशासन, नेपाली सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरी लगाएत संग आज विहान छलफल गरि काम अघि वढाईने उहाँले जानकारी दिनुभयो ।
सडक बिभागका महानिर्देशक केशब कुमार शर्माले पानी रोकिए पछि सो सडक खण्ड खुलाउन दुई दिन लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो “पानी नरोकिए सम्म मौवा खोलामा काम गर्न मिल्दैन । काम थाले पछि दुई दिन हामीलाई लाग्छ ।” अन्य खुल्ला रहेका सडक प्रयोग गर्न उहाँले सुझाब दिनुभयो । बैंकल्पिक मार्ग प्रयोग गर्नुको बिकल्प अहिले नरहेको उहाँको भनाई छ ।
यता नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा खसेको ठूलो पहिरो पन्छाउन सकिएको छैन । डिभिजन सडक कार्यालय भरतपुरका ई. शिब खनालका अनुसार पानी केही रोकीएमा पहिरो पन्छाउन सुरु गरिने छ । काम थालेको चार घण्टामा थप पहिरो र पानी नआएमा चार किलोमा एकतर्फि सडक खोल्न सकिने उहाँले जानकारी दिनुभयो । सो ठाउँमा सोमबार बिहान पाँच वजे पहिरो खसेको हो । चार किलोको वरीपरी र अन्य ठाउँमा पनि साना पहिरा खसेको उहाँको भनाई छ । मौषम अनुकुल भएमा यस सडक खण्ड भने आज संञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो । सडक अबरुद्ध भए पछि राजधानी काठमाडौं जाने र बाहिरीने धेरै सवारी साधन सडकमा अलपत्र परेका छन् ।