चितवनः निरन्तर वर्षा संगै पहिरो खस्ने क्रम जारी रहेपछि नारायणगढ–मुग्लिन सडक खण्डको चारकिलोमा आज दिनभर पहिरो पन्छाउने काम सुरु गर्न सकिएको छैन । मंगलबार बिहानबाट मात्र मौषम अनुकुल भएमा पहिरो पन्छाउने काम थालिने भएको छ ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई. कृष्णराज अधिकारीका अनुसार काम थाल्नै नसके पछि साँझबाट त्यहाँ भएका उपकरण र जनशक्ति पृथ्वी राजमार्गको पहिरो पन्छाउने काममा परिचालन गरिएको छ । चारकिलोमा ठूलो पहिरो संगै साना पहिराहरु खसेका छन् । पहिरो पन्छाउन नपाउँदै माथिबाट थप पहिरो खस्ने समस्या भए पछि काम अघि वढ्न नसकेको हो । उहाँले भन्नुभयो “आज हामी पृथ्वी राजमार्गको पहिरो पन्छाएर भोलिबाट मात्र चार किलोमा काम थाल्छौ ।”
ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो ठाउँ नारायणगढबाट ३१ दशमलब ५ किलोमिटर दुरिमा पर्दछ । अधिकारीका अनुसार पहिरोले करिब ६० मिटर क्षेत्र ढाकेको छ ।
सो सडकको अन्य पहिरो खस्न सक्ने ठाउँमा नियन्त्रणको काम भई सकेको भए पनि त्यस स्थलमा काम गर्न सुरु गरे लगत्तै पहिरो खस्न थालेको हो । सो सडक खण्डमा ठाउँठाउँमा खसेका साना पहिरो भने पन्छाउने क्रम जारीनै छ । चार किलो नजीकै चोर खोलामा खसेको पहिरो भने पन्छाउन बाँकी रहेको कार्यालयका ई. शिव खनालले जानकारी दिनुभयो ।