चितवनः भरतपुर महानगरपालिका भित्र रहेका चारवटा वडाहरु आफ्नै भवनमा सरेका छन् । बिभिन्न कारणले भाडामा बस्दै आएका र जिर्ण भएका भवनहरु पुनः निर्माण गरि आफ्नै वनमा सरेका हुन ।
जनप्रतिनिधि आएपछि वडा कार्यालयहरु व्यवस्थित बन्दै गइरहेका छन् । भाडाको भवनमा सञ्चालन भएका वडा कार्यालयहरु आफ्नै भवन निर्माण गरेर सरेका छन् भने अन्य वडा कार्यालयको आफ्नै भवन बन्ने क्रम जारी छ ।
जनप्रतिनिधि आएपश्चात नगरवासीलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि भरतपुर महानगरपालिकाले हरपल प्रयास गरिरहेको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो । जनताले महसुस गर्नेगरि सेवा प्रदानका लागि वडा कार्यालय व्यवस्थित पार्नुका साथै आफ्नै भवनमा सार्ने काम भइरहेको छ । उहाँका अनुसार पछिल्लो तीन वर्षको अवधिमा महानगरपालिकाको चार वटा वडा कार्यालय आफ्नै भवनमा सरेका छन् ।
भरतपुर महानगरपालिकाको ७, १३, १७ र २८ नम्बर वडा कार्यालयले नयाँ भवन निर्माण गरि आफ्नै भवनबाट सेवा प्रदान गरिरहेका छन् । त्यस्तै, महानगरपालिकाको वडा नम्बर २, ५, १०, १२, २३ र २८ को आफ्नै भवन निर्माणको लागि काम भइरहेको नगर प्रमुख दाहालले बताउनुभयो । बाँकी वडा कार्यालयका भवनहरु मर्मत गरेर काम भइरहेको छ ।
नगरवासीको आधारभूत सेवा प्रवाह गर्ने वडा कार्यालयहरुलाई व्यवस्थित नबनाउँदासम्म सेवा प्रवाहमा चुस्तता नआउने उहाँले बताउनुभयो । वडा कार्यालयलाई चुस्त बनाउँदै व्यवस्थित र प्रविधिमैत्री बनाउन आवश्यक बजेटको व्यवस्थागरि काम अगाडि बढाइएको छ ।
भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनीयर रत्न लामिछानेले महानगरपालिकामा जनप्रतिनिधि आएपछि भवन निर्माण तथा मर्मतका लागि करिब रु ११ करोड ५० लाख खर्च गरिएको जानकारी दिनुभयो । त्यस्तै करिब रु १० करोड ७० लाखको लागतमा नयाँ भवन निर्माणको काम भइरहेको लामिछानेले बताउनुभयो । भरतपुर महानगरपालिकाको चार वटा नयाँ वडा कार्यालय रु ५ करोड लागतमा निर्माण सम्पन्न भएका छन् ।
त्यस्तै, महानगरपालिकाका वडा कार्यालयहरुको पुरानो भवन मर्मतका लागि करिब रु ६ करोड ५० लाख खर्च भएको डिभिजनल इन्जिनियर लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !