काठमाडौंः नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको एक्लाएक्लै वार्ताले निकास दिन नसकेपछि बिहीबार माधव नेपालसहितको बैठक बस्दैछ ।
बुधबार दुई अध्यक्षको छलफलको अन्त्यतिर पार्टी महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी भएका थिए । उनीहरूसमेतको छलफलले निचोड निकाल्न नसकेपछि आजको बैठकमा नेपालसमेत सहभागी हुन लागेको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।
“आज तीन जना नेता बस्दै हुनुहुन्छ । निकास निकाल्नुहोस् भनेर हामीले दबाब दिइरहेका छौं । सबै पक्ष गम्भीर बने निकास परको कुरा होइन,” गजुरेलले भने, “राष्ट्रको समस्या, मुलुकबासीको चाहना र अहिलेको वस्तुगत आवश्यकता लाई ध्यानमा राख्ने हो भने निकास निस्कन्छ ।”
स्रोतका अनुसार बिहीबारको छलफलमा नेता नेपाललाई राख्न प्रचण्डले नै जोडबल गरेका थिए । दुई अध्यक्ष एक्लाएक्लै बस्ने निकास ननिस्कने तर बाहिर सन्देशचाहिँ दुई अध्यक्ष ‘चोचोमोचो’ मिलाउँदैछन् भन्ने गएपछि प्रचण्ड झस्किएका थिए ।
उनले केही दिनअघि नै संवादमा नेता नेपालाई जोड्न खोजेका थिए । तर, ओलिले रुचि देखाएका थिएनन् । बिहीबारको छलफलको लागि बालुवाटारबाट नै बोलावट भएको नेता नेपाल पक्ष बताउँछ ।
“प्रचण्डले यसअघि नै माधव नेपाललाई समेत सहभागी गराउनुपर्छ भनेर जोड दिँदै आउनुभएको थियो । तर, ओलीले खासै रुचि देखाउनुभएको थिएन । बुधबार बालुवाटारबाटै खबर गएको थियो,” नेपाल निकट स्रोत बताउँछ ।
राष्ट्रपतिको सक्रियता
पार्टीभित्रको विवाद सघन बनेपछि शीतल निवास सक्रिय भएको छ । स्थायी कमिटी बैठकयता राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई तीनपटक भेटवार्ता गरिसकेकी छन् । पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाललाईसमेत शीतल निवासमा बोलाएर छलफल गरेकी छन् । मिलेर अघि बढ्न सुझाव दिएकी छन् ।
गत शनिबार नेता नेपाललाई छुट्टै बोलाएर छलफल गरेको स्रोतको दाबी छ । शनिबार पार्टी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसमेतलाई लिएर शीतल निवास पुगेका नेता नेपाललाई विभिन्न विकल्पसमेत देखाएर मिल्न दबाब नै दिएकी थिइन् । ओली र नेता नेपाल नमिले पार्टी बरबाद हुने भन्दै तिक्तता त्यागेर मिल्न भनेकी थिइन् ।
तर, राष्ट्रपतिसँगको भेटमा नेता नेपालले विधि, पद्धतिकै पुराना कुरा दोहोर्याएको उनी निकट नेता बताउँछन् । “राष्ट्रपति भण्डारीले अहिले तेस्रो अध्यक्ष मानेर जान र महाधिवेशनपछि पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवादसहित पार्टीको नेतृत्व लिन अनुरोध गरेको बुझेका छौं । तर, नेता नेपालले अहिले आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै बन्न नखोजेको र बरु ओलीले विधिको पालना नगरेकाले समस्या निम्तिएको कुरा राख्नुभयो,” स्रोतको दाबी छ ।
बरु नेता नेपालले राष्ट्रपतिलाई ओलीलाई सम्झाउन आग्रह गरेका थिए । अध्यादेश ल्याउने र पार्टी विभाजन गर्नेतिर नलागुन् भन्ने भावनाले नेता नेपालले भनेको कुरा स्रोतले उद्धृत गर्यो, “अहिलेको परिस्थितिअनुसार ओली दुवै पदमा बस्न उपयुक्त छैन । प्रधानमन्त्रीजीलाई सम्झाइदिनुहोला ।”
यसबीचमा नेता नेपाललाई महासचिव विष्णु पौडेलसमेतले भेटेका छन् । उनले पनि पार्टी बरबाद हुने भयो, नेताहरू नमिल्दा पार्टी र आन्दोलनलाई क्षति पुग्ने भयो, समन्वकारी भूमिका खेल्नुपर्यो भन्दै मिलेर जान आग्रह गरेका थिए । महासचिव पौडेलको हैसियतलाई राम्ररी बुझेका नेता नेपालले धेरै कुरा सुनेको र ठोस जवाफ नदिएको स्रोतको दाबी छ ।
“महासचिव पौडेलसँग बढ्ता भावनात्मक कुरा भयो । पार्टीभित्रको विवाद मिलाउने सन्दर्भमा महासचिव पौडेलले कुरा बुझ्ने मात्रै हो । उहाँका कुरा पनि ओलीले खाने होइन,” स्रोत भन्छ ।