संखुवासभाः संखुवासभाको सिलिचोङ गाउँपालिका १, को बेसिन्दागाउँमा लगातार परेको वर्षाका कारण तीन दिनअघि ९ घर पहिरोले बगाएर हराइरहेका ११ जनाको खोजी जारी छ । यस्तै खोजीमा संलग्न मदन राईको हृदयाघातका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
गृह मन्त्रालयको हेलिकोप्टरको सहायतामा प्रदेश १ सरकारले पहिरोमा परेका बेसिन्दागाउँका ८२ घरका ३४९ जनालाई कम्बल, टेन्ट, म्याट्रेस, खाद्यान्नलगायत सामग्री पहिलोपल्ट उपलब्ध गराएको छ । यस्तै थप सामग्री लैजाने तयारीमा रहेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार तीन दिनअघि गएको पहिरोमा बेपत्ता भएका ११ जनाको खोजीका लागि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीसहित स्थानीय सरकार र स्थानीय बासिन्दाको सक्रियतामा खोजी जारी राखिएको छ ।
पहिरो गएको स्थल निरीक्षणका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई एक दिनअघि त्यसतर्फ गए पनि खराब मौसमका कारण घटनास्थल पुग्न सकेनन् । उहाँले सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा पुगेर स्थानीय प्रशासन, राजनीतिक दल र सरोकार पक्षहरुसँग भेटघाट गरी पहिरो र त्यसले पुर्याएको क्षतिबारे बुझ्नुभएको थियो । साथै उहाँले सबैलाई एकसाथ जुट्न आग्रहसमेत गर्नुभएको थियो । रासस