चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजन हुन नदिने बताउनु भएको छ । जिल्ला पार्टी कार्यालय चितवमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकतालाई अछुण राख्ने बताउनुभयो ।

कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “पार्टी विभाजित हुन दिईने छैन, पार्टीको एकतालाई अक्षुण राखिने छ, यो विश्वास तपाईहरुलाई दिलाउन चाहन्छु ।” पार्टी एकताबद्ध हुने भन्दै उहाँले कार्यकर्तालाई भन्नुभयो “अहिले यता र उता दौडिनु भयो भने पछि पछुताउनुहोला ।” उहाँले सबैले पार्टी एकताको पक्षमा नारा लगाउनु पर्ने बताउनुभयो ।

पार्टीभित्र गम्भीर समस्या सृजना भएको बताउँदै उहाँले भन्नुभयो “तर यो होइनकी पार्टी फुटिहाल्छ ।” आफू पार्टीमा देखिएका पछिल्ला संकटबारे गम्भीर छलफलमा रहेको बताउदै उहाँले नेता कार्यकर्ताहरूलाइ नहतारिन आग्रह गर्नुभयो । हतारमा फूट्ने र फूर्षदमा पछुताउने अवस्था आउन नदिन आफू हदैसम्म लचकताकासाथ लागिपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “ठूलो पार्टीमा विवाद आउनु नौलो होइन, विचार, विधि र जनवादी केन्द्रीयताका आधारमा एकदाबद्ध हुने सैद्धान्तिक यथार्थलाई सम्पूर्ण कम्यूनिष्ट पार्टीका कार्यकर्ताहरूले मान्नै पर्छ ।”

पार्टी एकता हुन नै नदिन ठूलो चलखेल भएको स्मरण गराउँदै उहाँले एकता हुन रोक्नका लागि आफूलाई प्रधानमन्त्रीको प्रस्ताव समेत आएको खुलासा गर्नुभयो । उहाँले भन्नुभयो “निर्वाचनपछि दुई पार्टी मिल्न नदिन मलाई पाँच वर्षका लागि प्रधानमन्त्री बन्न प्रस्ताव आएको थियो ।”

चीनमा विशाल कम्युनिष्ट पार्टी नफुटेको बताउँदै उहाँले चिनिया नेतासँगको छलफलमा विचार र विधिबाट चलेमा पार्टी नफुट्ने बताएको उहाँको भनाई थियो । उहाँले पार्टीमा विवाद भएमा विधिबाट समाधान खोजिने बताउनुभयो ।

हिजो संविधान नबनोस् भनेर धेरै कसरत भएको बताउँदै उहाँले भन्नुभयो “संविधान बन्न नदिने दवावलाई परास्त गरेर संविधान बनायौं ।” पार्टी र नेतालाई उक्साउने प्रबृत्तिका विरुद्ध खबरदारी गर्न उहाँले कर्ताकर्तालाई आग्रह गर्नुभयो ।

संविधान बनाउनेदेखि नाकाबन्दी, नयाँ नक्सा जारी गर्ने जस्ता कार्य सबै मिलेर गरेको बताउँदै उहाँले भन्नुभयो “कोही राष्ट्रवादी, कोही राष्ट्रघाती होइनौं । सबै मिलेर गरेका छौं ।”

प्रतिक्रिया दिनुहोस !