चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको समयमा पार्टीका राजनैतिक गतिबिधि र अन्य बिबादले कोरोना र प्रकोप बिरुद्धको संघर्ष कम्जोर वनाउन नहुने बताउनुभएको छ । जिल्ला बिपद व्यवस्थापन समिति चितवनको बैठकलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले प्रकोप बिरुद्धको संघर्ष एक जुट भएर गर्नुपर्ने बताउनुभयो । उहाँले कोरोना र प्रकोप बिरुद्धको संघर्ष कम्जोर हुन नहुने बताउनुभयो ।
अहिले वाढी पहिरोको उच्च जोखिम भएको भन्दै उहाँले नेकपाले आफ्नो बैठक एक साताका लागि स्थगित गरेर जनताको माझमा आँफुहरु आएको बताउनुभयो । उहाँले भन्नुभयो “बाढी पहिरोको उच्च जोखिममा छ । यस्तो वेलामा पार्टीका राजनैतिक गतिबिधि र अन्य बिबादले यो एकता कम्जोर नहोस् ।”
पार्टीको बैठक भन्दा जनतासंग जाने कुरा मुख्य हो भनेर आँफुहरुले बैठक रोकेको बताउनुभयो । कोरोना र बिपद विरुद्धको संघर्षमा एकतानै मुख्य कुरा भएको उहाँको भनाई थियो । दाहालले भन्नुभयो “एकतालाई कम्जोर पार्ने काम कहि कतैबाट भयो भने त्यो जनताको पक्षको काम भन्ने ठहरीदैंन ।” पार्टी एकताको पक्षमा उठेका बिषयमा भईरहेको पहललाई सकारात्क रुपमा लिदैं उहाँले भन्नुभयो “म यसमा पनि तपाईहरुको पहल भैराखेको छ । त्यसका लागि धन्यवाद ।”आगामी दिनमा अझै दृढताका साथ एकतावद्ध भएर अगाडी वढ्न उहाँको आग्रह थियो ।
कोरोना क्षयरोग जस्तै गरि लामो समय रहन सक्ने भन्दै उहाँले हामी कोरोना संगै हिड्ने र संगै बाँच्न सिक्नु पर्ने बताउनुभयो । दुई चार दिन ढिलो, छिटो खोप पत्ता लाग्ने भन्दै उहाँले भन्नुभयो “त्यसको उपचार पनि आउँछ । सन्चो पनि हुन्छ । अहिले पनि सन्चो भईराखेकै छ । उच्च मनोवल भए पछि रोग संग लड्न सकीन्छ ।”
सतर्कता अपनाउन र उच्च मनोवलका साथ एकतावद्ध भएर रोगका बिरुद्ध लड्न उहाँले सुझाब दिनुभयो । यस रोग बिरुद्ध सबै राजनैतिक शक्ति, नागरिक समाज, पत्रकार सबै एकतावद्ध हुनुपर्ने दाहालको भनाई थियो । उहाँले जिल्लामा राप्ती, नारायणी र रिउ नदीमा तटवन्ध सहितको रिङ्गरोड निर्माणका लागि बिस्तृत अध्ययन प्रतिवेदन वनेर अर्थमन्त्रालयमा बजेटका लागि पेस भएको बताउनुभयो । यस संगै यस क्षेत्रको बिकासमा नयाँ आयाम आउने उहाँको भनाई थियो । दाहालले भन्नुभयो “यो मेरो ड्रिम प्रोजेक्ट हो । यो चितवनका जनताको सम्बृद्धिको आधार वन्छ ।” साथै जिल्लामा रहेका खहरे खोलाहरुको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
बर्षातको समयमा नभएर समयमानै बिपद व्यवस्थापनको तयारी र बिकास निर्माणको काम गर्नु पर्नेमा दाहालको जोड थियो । सो अबसरमा प्रदेश सभा सदस्यहरु, राजनैतिक दलका प्रमुखहरु, स्थानीय तहका प्रमुखहरु, सरोकारवाला कार्यालयका प्रमुखहरु, सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रको गतिबिधि र धारणा राख्नु भएको थियो । बैठकमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जिल्लाको समग्र बिपद व्यवस्थापनको पूर्ब तयारी र अहिलेको अबस्थाको बारेमा जानकारी गराउनु भएको थियो । चितवन क्षेत्र नम्बर तीनका निर्वाचित सांसद समेत रहनु भएका दाहाल उपस्थित भएको वेला पारेर बिपदको वैठक राखिएको हो । दाहाल आफ्नै क्षेत्रमा पर्ने मेघौलीमा नारायणी नदीको कटान र माडी क्षेत्रमा भएको मानविय क्षती पछि निरिक्षणका लागि गृहजिल्ला आउनुभएको हो ।