चितवनः बाँदरले दुःख दिए पछि देवघाट क्षेत्र बिकास समितिले तर्साएर लखेट्ने भएको छ । जसका लागि समितिले बाँदर धपाउने ११ वटा यन्त्र खरिद गरिसकेको छ ।

समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार एउटालाई रु २ हजार ८ सयका दरले यन्त्र खरिद गरिएको छ । त्यस यन्त्रमा १० एमएल पानी र १० एमएल कार्वाइड राखेर पछाडीबाट लाईटर छिराएर सल्काए पछि चर्को आबाज आउने उहाँको भनाई छ ।

यन्त्रलाई चलाउने बिधिका बारेमा सिकाएर स्थानीय टोलहरुलाई बितरण गरिने घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार हाल देवघाट र आसपासका क्षेत्रमा ३ हजार देखि ३ हजार ५ सय सम्म बाँदर रहेको अनुमान छ । घिमिरेले हरेक वर्ष चार सय भन्दा वढिले बच्चा जन्माउने गरेको बताउनु भयो ।

समितिका अध्यक्ष शिबराज पौडेलका अनुसार सो यन्त्रको चर्को आबाज आउने र बाँदर तर्सिएर भाग्ने छ । त्यस क्रममा निकै चर्को आबाज आउने भएकाले संञ्चालन गर्नेको कानको समस्या हुन सक्ने भएकाले पूर्ण रुपमा तालिम दिएर मात्र यन्त्र स्थानीयलाई दिईने छ । असार महिनामा तालिम दिएर साउनको पहिलो साताबाट काम थाल्ने तयारी गरिएको छ । बाँदरले बालिनालि ध्वस्त वनाएको, घर भित्र पसेर खाना समेत खाईदिने गरेको, १२ जना भन्दा वढिलाई चिथोरेको र टोकेको उहाँले बताउनुभयो ।

स्थानीयहरुले धेरै दुःख पाए पछि समितिले बाँदर नियन्त्रणका लागि प्रयास अघि वढाएको पौडेलले बताउनुभयो । अन्य बिभिन्न बिकल्पमा काम गरेको भए पनि केही सिप नलागेपछि चर्को आबाज निकालेर तर्साएर लखेट्न लागिएको उहाँको भनाई छ । समितिले बाँदरलाई खोरमा राख्ने, संकलन गरेर अन्यत्र लगेर छाडिदिने जस्ता काम गरेको भए पनि सफल हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस !