चितवनः देशमा वड्दै गएको राजनैतिक खिचातानी र यस भित्र सत्तासिन दलमा आएको उतारचडाप अन्त्य गर्न माग गर्दै चितवनमा युवाहरुले प्रदर्शन गरेका छन् । राजनीतिक स्थायित्वको लागि पाँच वर्षलाई निर्वाचित केपी ओली सरकारको राजीनामा मागिएको विरोधमा भरतपुरमा युवा, विद्यार्थीहरुले प्रदर्शन गरेका हुन।

पार्टीभित्रबाटै ओली सरकारको राजीनामा मागिएपछि राजनीतिक स्थिरता र विकासको लागि असारको चर्को घामको परवाह नगरी सयौ युवाहरु आज दिउँसो भरतपुरको चौविसकोठीमा राष्ट्रिय झण्डा, नेपालको नक्सा र केपी ओलीको फोटो सहित प्रदर्शनमा उत्रिएका हुन् ।
भरतपुरको चौबिसकोठीदेखि चितवन मेडिकल कलेजको गेटसम्म विभिन्न प्लेकार्ड बोकेर लामबद्धरुपमा प्रदर्शन गरेका थिए । विरोध सभाको समापन गर्दै चितवन वार एशोसिएसनका अध्यक्ष कमल पाठकले देशले गुमाएको भूमिसहितको राष्ट्रिय नक्सा सार्वजनिक गरे लगत्तै पार्टीभित्रबाटै सरकारको राजीनामा माग गर्नु विडम्वना भएको बताउनुभयो । उहाँले भन्नुभयो “हामी कतिले केपी ओलीलाई चिन्दैनौं तर पनि राजनीतिक अस्थिरताको अन्त्य गर्दै हामी यसरी सडकमा प्रदर्शन गर्न बाध्य भएका छौ ।” देशको आर्थिक विकास र समृद्धिको लागि पनि केपी ओली सरकार पाँच वर्षसम्म चल्नुपर्ने उहाँको विचार थियो । यसअघि पनि युवा तथा विद्यार्थीहरुले भरतपुरमा ओली सरकारको समर्थनमा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !