काठमाडौंः प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग एक्लाएक्लै छलफलपछि अर्का अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । दुवै अध्यक्षको छलफलपछि आजको स्थायी कमिटी बैठक सहमतिको प्रयत्न गर्ने भन्दै बुधवारसम्मलाई स्थगित गरिएको छ ।

यसबीचमा दुईपटक अन्य सहयोगी नेताहरुसहित वार्ता गरेका ओली र प्रचण्ड सोमवार भने एक्लाएक्लै संवादमा थिए । दुई अध्यक्षबीच के कुराकानी भयो भन्ने खुलेको छैन । तर प्रचण्ड प्रफुल्ल मुद्रामा बाहिरिएको बालुवाटार स्रोतको दावी छ ।
यसअघि दुवै वार्तामा ओलीले आफू प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाड्ने अडान दोहोर्याएका थिए भने प्रचण्डले प्रधानमन्त्रीबाट राजिनामा दिनुपर्ने अडान नै राखेका थिए । दुई अध्यक्षबीच समझदारी नभई स्थायी कमिटी बैठक नराख्न मध्यमार्गी नेताहरुले पनि दबाव दिइरहेका छन् ।

पार्टी फुट्न नदिन सक्रिय एक नेताले भने– अहिले स्थायी कमिटीमा छलफल गराएर बहुमतका आधारमा कुनै निर्णय गर्न खोजियो भने त्यही विन्दुबाट पार्टी फुट्छ । त्यसैले दुई अध्यक्षबीच नै मुख्य समझदारी होस् भनेर हामीले पनि आग्रह गरिरहेका छौं । उहाँहरुले जे सहमति गर्नहुन्छ त्यो पार्टी बैठकमा ल्याउनुभयो भने छलफल सहज हुन्छ ।

प्रतिक्रिया दिनुहोस !