काठमाडौंः नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोगको हल्ला निराधार रहेको भन्दै प्रधानमन्त्रीको गलत कदममा साथ नदिन आग्रह गरेका छन् ।
आज बिहान ११ बजे शीतल निवास पुगेका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले राष्ट्रपति भण्डारीलाई भेटेर महाभियोगको हल्ला एकदमै निराधार, कपोलकल्पित रहेको बताएका हुन् ।
“तपाईंविरूद्ध महाभियोगको तयारी हुँदैछ भनेर हल्ला चलाइएछ । हामीले एकै श्वरमा भन्यौं । त्यस्तो हल्ला निराधार हो । कुनै तयारी छैन । कल्पना पनि गरेको छैन । पार्टीभित्रको समस्या आन्तरिक हो । यो हामी मिलाउँछौं । यसमा राष्ट्रपति कार्यालय मुछिनु आवश्यक छैन । ढुक्क रहनुस् भनेर भन्यौं,” भेटपछि झलनाथ खनालले भन्नुभयो।

राष्ट्रपति भण्डारीले ठीकै छ, मैले पनि त्यस्तो कल्पना गरेको छैन भनेर जवाफ फर्काएको खनालले बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार राति मन्त्री, राज्यमन्त्रीलाई बोलाएर म र राष्ट्रपतिविरूद्ध षड्यन्त्र भएको बताउनुभएको थियो ।

उहाँले मन्त्रीहरूलाई पार्टी सङ्कटको उत्कर्षमा पुगेकाले फुटको दिशामा जान सक्ने खतरा औंल्याउनुभएको थियो । नेताहरूबीच संवाद चलिरहँदा प्रधानमन्त्रीले त्यसो भनेपछि नेताहरू शीतल निवास पुगेर प्रष्ट पारेका हुन् ।
अहिले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस !