चितवनः देश विषम परिस्थितिमा रहेको समयमा सरकार परिवर्तन गर्न नहुने यहाँका बुद्धिजीवि तथा व्यवसायीहरुले बताएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सरकार परिवर्तनको बहस चलिरहेका बेला उनीहरुले स्थिर सरकार र संगठित पार्टीले मात्रै वर्तमान समस्यासँग जुध्न सक्ने बताएका हुन् ।

कोरोना भाईरस (कोभिड १९) का कारण देशको अर्थतन्त्र धरासायी बन्ने अवस्थामा पुगेको भन्दै सबै दल एक ठाउँमा उभिएर अहिलेको संकटलाई सामना गर्नुपर्ने उनीहरुको भनाई छ । नेपाली कांग्रेस निकट बुद्धिजीवि प्रा.डा. सूर्यकान्त घिमिरे वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्षको जनमत प्राप्त भएको र दुई पार्टी मिल्दा स्थायी सरकार दिन्छौं भन्ने प्रतिबद्धता जनतालाई दिएकाले अहिले सरकार परिवर्तन गर्न नहुने बताउनुहुन्छ ।

उहाँले थप्नुभयो “नेपालका दलहरुले पूरा कार्यकाल सरकार चलाउन सक्दैनन् भन्ने सन्देश दिनु राम्रो हुँदैन, त्यसलाई चिर्नका लागि स्थिर सरकार आवश्यक छ ।” आफ्नो पार्टीको सरकार आफैले ढाल्ने परम्पराको अन्त्य गर्दै संकटमा एकजुट हुन र प्रधानमन्त्रीलाई सच्चिएर काम गर्न उहाँको सुझव छ ।

प्रधानमन्त्रीका काम र बोली विवाद ल्याउने खालका भएको भन्दै उहाँले यसतर्फ प्रधानमन्त्री सचेत हुनुपर्ने बताउनुभयो ।

बरिष्ठ अधिवक्ता धर्मराज आचार्य पार्टीको निर्णय अनुसार सरकार चल्नुपर्ने बताउनुहुन्छ । अहिले पार्टी र सरकार दुवै अस्तव्यस्त भएको भन्दै उहाँले प्रधानमन्त्रीले आफूले रोजेको एक पद राखेर समस्याको समाधान खोज्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो “पार्टीको बहुमतको निर्णय प्रधानमन्त्रीले मान्नुपर्छ ।” पार्टीले अविश्वास प्रस्ताव ल्याउनु पर्ने अवस्था आउन नहुने भन्दै उहाँले समयमै प्रधानमन्त्रीले यसको निकास दिनुपर्ने बताउनुभयो ।

उद्योग वाणिज्य महासंघ प्रदेश नं. ३ का उपाध्यक्ष एवं उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम अहिलेको परिस्थितिमा सबै पार्टी एक भएर समस्यासँग जुध्नुपर्ने बताउनुहुन्छ । कोरोनाले देश आक्रान्त भईरहेको बेला प्रधानमन्त्री परिवर्तनको कुरा बेमौसीमा बाजा भएको उहाँको टिप्पणी छ । उहाँले भन्नुभयो “एउटै पार्टीभित्र आलोपालो गर्ने कुरा अलग्गै कुरा हो, तर जुन ढंगले कुरा बाहिर आईरहेको छ, त्यसले दूरगामी असर पार्छ ।”

उद्योग परिसंघका उपाध्यक्ष एवं उद्योग संघ चितवनका पूर्व अध्यक्ष कृष्ण अधिकारी राष्ट्रिय संकटको समाधानका लागि प्रधानमन्त्री र दलका अन्य पक्ष सकारात्मक नभएको बताउनुहुन्छ । उहाँले पार्टीसँग स्पष्ट बहुमत भएकाले जो प्रधानमन्त्री भए पनि पार्टीको निर्णय अनुसार आउने भएकाले समस्या नहुने बताउनुभयो । यद्यपी, स्थिर सरकार जरुरत रहेको उहाँको भनाई छ । पार्टी फुट्न नहुने भन्दै उहाँले अहिलेको संकटसँग जुध्न सरकारले सबैलाई मिलाएर लैजानुपर्ने बताउनुभयो ।

सप्तगण्डकी बहुमुखी क्याम्पसका पूर्व प्रमुख रामप्रकाश अधिकारी जनताले पाँच वर्षका लागि ओलीलाई प्रधानमन्त्रीको रुपमा निर्वाचित गराएकाले अहिले सरकारको नेतृत्व परिवर्तन गर्न उपयुक्त नहुने बताउनुहुन्छ । कमि कमजोरी भएमा खोजी गर्ने र सचेत गराउन सकिने भए पनि सरकारको नेतृत्व परिवर्तन आवश्यक नभएको उहाँको बुझाई छ ।

सरकारभन्दा पार्टीको अवस्था दयनीय भएको भन्दै उहाँले भन्नुभयो “पार्टी नै चलेको छैन, पार्टी तलदेखि माथिसम्म चलाउने जिम्मा ओलीको मात्रै होइन ।” सरकारले भ्रष्टाचार ग¥यो, अनियमितता भएको देखिन्छ भने तत्काल पार्टीले खबरदारी गर्नु पर्ने उहाँको भनाई छ । पार्टीलाई तल्लो तहसम्म सुदृढ गरेर वडादेखि संघीय सरकारसम्म पार्टीका तर्फबाट सचेत गराउनु पर्ने अधिकारीको सुझाव छ ।

वाम बुद्धिजीवि प्रेम रिमाल प्रधानमन्त्रीले अर्काे उपयुक्त पात्रलाई प्रधानमन्त्री बनाएर अहिलेको समस्याको निकास दिनुपर्ने बताउनुहुन्छ । प्रधानमन्त्रीको स्वास्थ्यका कारण समस्या भएको भन्दै उहाँकै सहयोगमा अर्काे व्यक्तिले योभन्दा राम्रो गर्न सक्ने रिमालको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस !