चितवनः लकडाउनले विश्व आक्रान्त बनिरहेका वेला यहाँको कृषि तथा वन बिज्ञान विश्वबिद्यालयको केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारीहरुले अतिरिक्त प्रोत्साहन पारिश्रमीक माग गर्दै तालाबन्दि गरेका छन् । उनीहरुले केन्द्रिय कार्यालयमा बुधबार तालावन्दि गरेका हुन ।
विश्वविद्यालयका उपकुलपति डा. शारदा थपलियाका अनुसार त्यहाँ कार्यरत १७ जना कर्मचारीले खाईपाई आएको प्रोत्साहन भत्ता माग गरि तालाबन्दि गरेका हुन । थपलियालाई विश्वविद्यालयको अर्को व्यवस्था नभए सम्मका लागि उपकुलपतिको जिम्मेवारी दिईएको हो । थपलियाले रजिष्टारलाई यस सम्बन्धि ज्ञान हुने भन्दै अतिरिक्त पारिश्रमीक दिन इन्कार गरे पछि तालाबन्दि गरिएको कर्मचारीहरुले जनाएका छन् ।
विश्वविद्यालयमा रजिष्टार रिक्त रहेको छ । विश्वबिद्यालयले केन्द्रिय कार्यालयमा कार्यरत अधिकृत भन्दा माथिका कर्मचारीहरुलाई तलबको २० प्रतिशत र तलकालाई २५ प्रतिशत अतिरिक्त पारिश्रमीक दिदै आएको थियो । उनीहरुले चालु आर्थिक वर्षको असोज सम्मको अतिरिक्त पारिश्रमीक खाएको भए पनि त्यस यताको पारिश्रमीक माग गरेको जनाएका छन् ।
लकडाउनको समयमा पनि अतिरिक्त पारिश्रमीक खोजेको भन्दै उनीहरुको सर्बत्र निन्दा भएको छ । उनीहरुले लकडाउनको तीन महिनाको भने पारिश्रमीक नलिने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस !