चितवनः जिल्लामा रहेका नीजि बिद्यालयहरुले बिद्यालयमा कार्यरत शिक्षकहरुलाई अघिल्लो वर्षको समेत पारिश्रमीक नदिएको पाईएको छ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) चितवनले बोर्डिङमा कार्यरत शिक्षकहरुले अघिल्लो वर्षकै तलब नपाएको गुनासो गरेको हुन । यस संस्थामा रहेका पाँच हजार शिक्षकले अघिल्लो वर्षको समेत पारिश्रमीक नपाएको आजर भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन ।

इस्टु चितवनका अध्यक्ष जनकराज घिमिरेले चितवनका ९० प्रतिशत संस्थागत स्कुलका शिक्षकले अघिल्लो वर्षकै पारिश्रमीक नपाएको गुनासो गर्नुभयो । अध्यक्ष घिमिरेले भन्नुभयो “वर्षकै अन्तिम महिना चैतको कुरा छोड्नुस्, माघ–फागुनकै तलब पाएका छैनन् ।” उहाँले चितवनमा एक सय ६५ वटा संस्थागत विद्यालय मध्येका जम्मा दस प्रतिशतले मात्र शिक्षकलाई पारिश्रमीक दिएको बताउनुभयो ।
“बोर्डिङका शिक्षक बाँच्न पर्दैन ? उनीहरुका परिवार हुँदैनन् ? तलब नपाए उनीहरु कसरी बाँच्ने ?” अध्यक्ष घिमिरेले भन्नुभयो, “‘समयमै सबै महिनाको तलब पाउनुपर्छ, अभिभावकसँग शुल्क लिइएको छैन भनेर तलब रोक्न मिल्दैन । हिजो नाफा हुँदा हामी नाफा माग्न त गएनौँ, अहिले समस्या आउँदा तलब रोक्न मिल्छ ?”
यतिबेला चितवनका संस्थागत विद्यालयमा अनलाइनबाट शिक्षण कार्य भइरहेको छ । स्थानीय टेलिभिजनबाट पढाइ भइरहेको छ । शिक्षकहरु अनलाइनबाट शिक्षण कार्यमा तल्लीन छन्, तर उनीहरुले तलब नपाएको इस्टुले जनाएको छ ।

इस्टु चितवनका अनुसार कति शिक्षकहरुले न्यूनतम पारिश्रमिक समेत पाएका छैनन् । एक जना श्रमिकको न्यूनतम पारिश्रमिक अहिले तेह्र हजार ५०० हो, तर चितवनका एक हजारभन्दा बढी शिक्षकले अहिले त्यति पारिश्रमिक समेत नपाएको ईष्टुको भनाई छ ।

संस्थागत विद्यालयका शिक्षकहरुले समयमै तलब नपाएपछि इस्टु चितवनले प्याब्सन चितवन, प्याब्सन महानगर, शिक्षा विकास तथा समन्वय इकाइ, नगरका शिक्षा शाखाहरुमा ध्यानाकर्षण पत्रसमेत बुझाएको छ । पत्रमा समयमै तलबको व्यवस्था गर्नुपर्ने, अघिल्लो शैक्षिक सत्रको तलब नपाएका शिक्षकको तलब तत्काल भुक्तानी गर्नुपर्ने उल्लेख छ ।
राज्यले सरकारी विद्यालयका शिक्षकलाई दिएकै सेवासुविधा संस्थागतमा पनि दिनुपर्छ, तर यहाँ त तलबसमेत पाएका छैनन् । अध्यक्ष घिमिरेले भन्नुभयो “लकडाउनमा पनि शिक्षकहरु त बाँच्नुपर्छ ।”

संस्थागत विद्यालयले अभिभावकबाट लिइएको शुल्कको ६० प्रतिशत तलबमा खर्च गर्नुपर्छ, तर यो नियम पनि चितवनका संस्थागत विद्यालयहरुमा कार्यान्वयन नभएको इस्टु चितवनको भनाइ छ ।
अध्यक्ष घिमिरेका अनुसार कार्यभार बढी दिने, पारिश्रमिक कम दिने संस्थागत विद्यालय जिल्लामा धेरै छन् । चितवनका ९० प्रतिशत संस्थागत विद्यालयहरु राज्यको नीति निर्देशनविपरीत चलेका इस्टुले दाबी गरेको छ ।
प्याब्सन चितवनका अध्यक्ष टीकाराम चापागाईंले अभिभावकबाट शुल्क उठाउन नपाएर नै तलब खुवाउन नसकिएको बताउँनुहुन्छ । उहाँले भन्नुभयो “चितवनका संस्थागत विद्यालय मुस्किलले चलेका छन्, अन्य जिल्लाको तुलनामा यहाँका शिक्षकको तलब राम्रो छ ।”

उहाँले थप्नुभयो “अहिले कोरोना भाइरसका कारण देशमा लकडाउन छ, स्कुल खुल्न सकेको छैन, अभिभावकसँग शुल्क लिन पाइएको छैन, कसरी तलब खुवाउने ?”

प्रतिक्रिया दिनुहोस !