काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुईदिनअघि दिएको अभिव्यक्तिका सम्बन्धमा प्रष्ट पार्न सदस्यहरुले माग गरेका छन् । प्रधानमन्त्री ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर तयार पारेको नक्सा प्रकरणपछि आफ्नो सरकार ढाल्न प्रयास गरिएको भन्दै घुमाउरो पारामा भारतलाई दोष दिएका थिए ।

आजको बैठकमा आफ्ना धारणा राख्दै नेता झलनाथ खनाललगायतका नेताहरुले सरकार ढाल्न दूतावास सक्रिय भएको भन्ने अभिव्यक्ति गम्भीर भएकाले तत्कालै स्पष्ट पार्नुपर्ने धारणा राख्नुभयो । अहिलेसम्म तीनजना नेताहरु प्रचण्ड, खनाल र वामदेव गौतमले यसबारेमा कुरा उठाएका थिए ।
स्थायी कमिटीका एक सदस्यले दिएको जानकारीअनुसार प्रचण्ड, खनाल र गौतमले दूतावासले सरकार ढाल्न लागेको भन्ने भनाइ स्पष्ट पार्न माग गरेका छन् । उनीहरुले सरकारका कामहरुको खुलेरै आलोचना गरेको एक सदस्यले जानकारी गराए । बैठकमा तीनजनाले आफ्ना धारणा राखेपछि प्रधानमन्त्री बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस !