चितवनः जिल्लामा रहेको एक प्रहरी कार्यालयले सवारी साधन मर्मतका लागि भन्दै बिभिन्न संघ संस्था र व्यवसायीहरुसंग चन्दा संकलन गरेको पाईएको छ । ईलाका प्रहरी कार्यालय माडीले माडी क्षेत्रमा रहेका सरकारी, गैर सरकारी र नीजि संस्था र व्यक्तिहरुसंग पत्र काटेर गाडी मर्मतका लागि सहयोग माग गरेको हो ।
वि.सं. २०७७ साल जेठ ११ गते ईलाका प्रहरी कार्यालय माडीमा रहेको बा २ झ ४४९३ नम्बरको टाटा जेनन गाडी दुर्घटनामा परेको र सो गाडी मर्मतका लागि भन्दै कार्यालयले माडी नगरपालिकामा रहेको गर्दी वचत तथा ऋण सहकारी संस्था संग सहयोग माग गरेको पत्र क्लिक खवरले प्राप्त गरेको छ । कार्यालयले असार ८ गते ७२६ नम्बरको चलानीमा संस्थालाई पत्र काटी रकम माग गरिएको हो ।
पत्रमा लेखिएको छ “माडी एरियामा रहेका क्वारेन्टाईन स्थललाई सुरक्षाका दृष्टिले निकै संबेदनशिल रहेको क्वारेन्टाएन परियामा परिचालनका लागि चल्ने वा २ झ ४४९३ नम्बरको टाटा जेनन गाडी मिति २०७७÷०२÷११ गते दुर्घटना भएकोले उक्त गाडी मर्मत गर्नका लागि सहयोग गरिदिनु हुन अनुरोध गरिएको छ ।”
कार्यालयका प्रमुख प्रहरी निरिक्षक हर्क वहादुर विश्वकर्माले हस्ताक्षर गरेर पत्र पठाईएको छ । प्रहरीको यस कार्यले माडी क्षेत्रका संस्था र व्यवसायीहरु त्रसित वनेका छन् । प्रहरीको नियमावलीमा संगठन भित्र रहँदा दान, द्रव्य र उपहार लिन नपाईने जनाईएको छ । तर नियमावलीकै उल्लंघन गर्दै माडीमा पत्रनै काटेर सहयोग माग्नुले संघ संस्था र व्यवसायी त्रसित वनेको एक व्यवसायीले बताए । विश्वकर्माले पत्र पठाएको स्विकार गर्दै दुईवटा संस्थामा मात्र पठाएको दावि गरेको भए पनि माडीका धेरै संस्था र व्यक्तिकोमा पत्र पठाएको पाईएको छ । उहाँले माडीका नगरप्रमुख र जिल्लाका प्रहरी प्रमुखलाई जानकारी गराएर पत्रपठाएको भने पनि सम्बन्धित दुबै जनाले त्यस ढङ्गबाट पत्र पठाउन आँफुहरुले नभनेको दावि गर्नु भएको छ ।
यस बिषयमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाले प्रहरीले पत्र काटेर कुनै पनि संघ संस्था वा व्यवसायीसंग सहयोग माग्न नमिल्ने बताउनुभयो । व्यक्तिगत ईच्छाले सहयोग गर्न आउँदा गाडी मर्मतका लागि गर्न सकीने भए पनि पत्र काट्नु गलत भएको उहाँको भनाई छ । कार्यालयले पत्र पठाएका ठाउँहरुबाट तत्काल पत्र फिर्ता माग्न भनिएको उहाँले जानकारी दिनुभयो ।
सो गाडी मर्मतका लागि ठूलो रकम लागेको र प्रहरी प्रधान कार्यालयबाट आएको बजेटले अपुग भएका कारण रकम मागेर पत्र पठाईएको हुन सक्ने उहाँको भनाई छ । माडीका बासिन्दाले प्रहरीबाटै चन्दा आतङ्क भएको भन्दै रोस प्रकट गरेका छन् । एक जनाले नाम नवताउने सर्तमा भने “सरकारी संगै गैर सरकारी संस्था र व्यक्ति संग दवाव मुलक ढङ्गले रकम अशुली गरिदै छ । को संग गुनासो गर्ने ।” कार्यालयले हाडवयर व्यवसायी देखि ठेकेदारहरु सम्म रकम माग गरेको स्थानीयले जनाएका छन् ।