चितवन – उद्योग वाणिज्य संघ चितवनले भरतपुर महानगरपालिकाको सम्पन्न नगर सभामार्फत भरतपुरका व्यवसायीलाई गरेको व्यवसाय कर छुटको घोषणाको स्वागत गरेको छ ।

विश्वव्यापी रुपमा रहेको कोरोना भाइरसका कारण नीजि क्षेत्र सवैभन्दा बढि प्रभावित भएको अवस्थामा कर छुटको घोषणाले व्यवसायीलाई थोरै भए पनि राहत महसुस भएको भन्दै संघले महानगरपालिकाको निर्णयको स्वागत गरेको हो ।

उवा संघका अध्यक्ष राजु श्रेष्ठले विसम परिस्थितिको कारण व्यवसायीहरु संकटमा परेको अवस्थामा महानगरपालिकाले उक्त घोषणा गर्नु स्वागत योग्य भएको बताए कर तिर्नु व्यवसायीको दायित्व भएपनी संकटको अवस्थामा व्यवसायीलाई टिकाइ राख्नका लागि सरकारले विभिन्न राहतका प्याकेजहरुको घोषणा गर्नुपर्ने श्रेष्ठको भनाई छ ।

समय समयमा बिभिन्न अन्र्तक्रिया एवम् छलफल मार्फत कर छुटका लागि माग गरेको संघका कामु कार्यकारी निर्देशक निलबहादुर केसीले बताए । व्यवसायीहरुको समस्या सम्बोधन गरेकोमा संघले महानगरपालिका प्रति आभार ब्यक्त गरेको छ ।

बुधवार शुरु भएको नगरसभामा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले नीति तथा कार्यक्रम एवम् बजेट प्रस्तुत गर्दै पर्यटन र मनोरञ्जन व्यवसायीहरुलाई करमा २५ प्रतिशत, घरवहाल करमा ७ प्रतिशत र अन्य व्यवसायलाई १५ प्रतिशत छुट दिईने घोषणा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस !