चितवनःनारायणी नदी व्यवस्थापन आयोजनाले नारायणी र राप्ती नदी तटवन्धनका लागि रु ५० अर्ब माग गरेको छ । आयोजनाले ती दुबै नदीको बिस्तृत आयोजना प्रतिवेदन तयार गरि सिचाई बिभागमा पेश गरेको छ ।
आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल ईन्जिनियर हरि वहादुर थापाका अनुसार ती दुबै नदीमा तटवन्धन र त्यसमाथि ग्राबेल बाटो हुने छ । आयोजनाले तयार गरेको प्रतिवेदनमा नारायणी नदीको नवलपरासी तर्फ ६३ किलो मिटर तटवन्धन गरिने छ । यस अघि तटवन्धन गरिएको १० किलोमिटर क्षेत्रलाई मर्मत सम्भार गरिने छ ।
थापाका अनुसार नारायणीको चितवन तर्फ ५० किलोमिटर तटवन्धन गरिने छ । पहिले निर्माण भएको १३ किलोमिटर भागलाई मर्मत गरिने छ । राप्तीमा चितवन र मकवानपुर क्षेत्रको १ सय ५ किलोमिटर मध्ये स्विस परियोजनाले पूर्बी चितवनमा गरेको तटवन्धनको वाहेकको भूभाग तटवन्ध गरिने छ ।
तटवन्धनको माथि डिलमा ६ मिटर फराकीलो ग्रावेल सडक हुने थापाले जानकारी दिनुभयो । नदी तर्फ ग्याबिन जालिबाट संरक्षण गरिने छ । थापाले बिभागमा प्रतिवेदनको बिषयमा छलफल पछि स्विकृत भए संगै गुरुयोजना निर्माणमा लाग्ने बताउनुभयो ।
तटवन्धनमा ठूलो खर्च लाग्ने भएकाले दाता र ऋणको खोजी गरिदै छ । राप्ती र नारायणीको चितवन तर्फको भागमा लगानी गर्न एसियन डेभलोपमेण्ट बैंकले चासो देखाएको थापाले जानकारी दिनुभयो । सो बैंकका प्रतिनिधिहरुले स्थलगत अध्ययन गरिसकेका छन् । कुन ढङ्गले उनीहरु सहकार्य गर्न तयार हुन्छन पछि थाहा हुने उहाँको भनाई छ ।
बि. सं. २०६६ सालमा जनताको तटवन्धन नामक आयोजना मार्फत नारायणी नदीमा तटवन्धन थालिएको हो । पछि सोही आयोजनाको नाम परिवर्तन भएर नारायणी नदी व्यवस्थापन आयोजना भएको हो । सो आयोजनाले हरेक वर्ष काम गर्दै आएको भए पनि वजेट अभावका कारण सोचे जस्तो काम हुन सकेको छैन ।
यद्यपी यस आयोजनाले जोखिमपूर्ण ठाउँहरुमा तटवन्धन गरिदिदाँ चितवन र नवलपरासीका धेरै भूभाग जोगिएका छन् । हाल सम्म नदी तटवन्धनमा रु १ अर्ब ७२ करोड खर्च भई सकेको आयोजनाले जनाएको छ ।