काठमाडौंः नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मी छत्रकोट गाउँपालिका ५ का ६९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उनी प्यारालाइसिसको भारत गएर जेठ २५ गते उनी नेपाल फर्किएर होम(क्वारेन्टिनमा रहेका थिए ।
उनको असार ५ गते निधन भएको थियो । सोही दिन उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

असार ६ गते सार्वजनिक रिपोर्ट अनुसार उनलाई कोरोना संक्रमण भएको पाइएको थियो । असार ६ गते उनको शव व्यवस्थापन नेपाली सेनाले गरेको बताइएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । जसमध्ये चार महिला रहेका छन् भने १९ जना पुरुष रहेका छन् ।

यसै बिच नोभेल कोरोना भाइरसका ४२१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४२१ संक्रमित थपिएका हुन् ।
हालसम्म सबैभन्दा बढी दैनिक कोरोना संक्रमित बिहीबार ६७१ जना थपिएका थिए । शुक्रबार ४२६ कोरोना संक्रमित थपिएका थिए भने शनिबार ३३१ संक्रमित थपिएका थिए ।

देशभरका ७५ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । कुल कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।

हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि एक हजार ७७२ जना डिस्चार्ज भएका छन् । जसमा १४९ जना महिला रहेका छन् भने १ हजार ६२३ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १९४ डिस्चार्ज भएका छन् । जसमा ८ महिला र १८६ पुरुष रहेका छन् ।
हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।
देशभर हालसम्म एक लाख ७५ हजार १७३ पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ६२ हजार २७४ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ९४ हजार ९२८ मानिसहरु रहेका छन् भने आइसोलसनमा ७ हजार २३१ कोरोना संक्रमितहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !