चितवनः चितवन मेडिकल कलेजले माडी नगरपालिकामा स्थापना गरिएको आईसोलेसनका लागि १० थान शैया उपलब्ध गराएको छ । कलेजले रु ७ लाखमा खरिद गरेर ती शैया नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार कलेजले उपलव्ध गराएका शैया आईसोलेसनमा राखिएको छ । कलेजले स्वास्थ्य उपचारमा आवश्यक सहयोगको आश्वासन समेत दिएको ढकालले जानकारी दिनुभयो । हाल माडीको आईसोलेसनमा ७ जना कोरोना संक्रमित रहेका छन् । क्वारेन्टिनमा २ सय ५६ जना छन् ।
संक्रमण देखिएपछि आफ्नै आईसोलेसनमा राखेर उपचार गर्ने माडी जिल्लाको एक मात्र नगरपालिका हो । आईसोलेसन बन्नु अघि र पछि समस्या देखिएपछि ७ जनालाई भरतपुर अस्पताल पठाईएको थियो । ढकालले अब दुई शैयाको भेन्टिलेटर सहित सघन उपचार कक्ष माडीमानै स्थापना गरिने बताउनुभयो ।
चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले कोरोनाको संक्रमण देखिएपछि बिभिन्न ठाउँमा सहयोग गरिएको बताउनुभयो । भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पतालमा २० शैया पछि फिर्ता गर्ने गरी कलेजले दिएको छ । यसैगरी फिर्ता नगर्ने गरी माडीसँगै भरतपुर महानगरपालिका वडा नम्बर ५ मा १० शैया उपलव्ध गराईएको उहाँले जानकारी दिनुभयो ।
भरतपुर कोभिड १९ प्रयोगशाला स्थापना गर्दा सोही मेडिकल कलेजका पाँच जना चिकित्सक प्राबिधिकले सहयोग गरेका थिए । न्यौपानेका अनुसार अहिले पनि दुई जना त्यही कार्यरत रहेका छन् ।
कलेजले निजी क्षेत्रबाट पिसिआर परीक्षणका लागि रु ५ करोड खर्च गरेर प्रयोगशाला तयार गरेको छ । न्यौपानेले सरकारले चलाउन चाहेमा प्रयोगशाला दिने भन्दै स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको समेत जानकारी दिनुभयो ।