
चितवनः कोरोना भाईरस (कोभिड १९) संक्रमितको व्यवस्थापन माडी नगरपालिकाले आँफैले गर्न सुरु गरेको छ । नगरपालिकाले माडी क्याम्पसमा आईसोलेसन कक्ष निर्माण गरि त्यहीँ संक्रमित राख्न थालेको छ ।
नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार त्यहाँ ७ जना संक्रमित रहेका छन् । शुक्रबार संक्रमण पुष्टि भएका आठ जना मध्ये एक जनालाई भरतपुर अस्पताल पठाईएको छ भने सात जनालाई त्यही राखिएको छ । माडी क्याम्पसमा १७ शैयाको आईसोलेसन तयारी अबस्थामा छ । १३ शैया थप गर्न लागिएको ढकालले जानकारी दिनुभयो ।
उनीहरुलाई सिसि क्यामेराको निगरानीमा राखिएको छ । चिकित्सक सहितको स्वास्थ्य टोलि त्यही तयारी अबस्थामा राखिएको छ । माडीको बघौंडा अस्पतालमा दुई शैयाको भेन्टिलेटर सहितको सघन उपचार कक्ष निर्माण गर्न लागिएको छ । ढकालले भन्नुभयो “भरतपुरको एक मेडिकल कलेज संग छलफल भईरहेको छ । केही दिनमानै हामी सघन उपचार कक्ष तयार गछौं ।”
संक्रमित दिर्घ रोगि भएर ज्वरो आएमा भरतपुर अस्पतालको आईसोलेसनमा पठाउने भए पनि अन्यलाई माडीमानै राखिने उहाँको भनाई छ । सघन उपचार कक्ष वनेपछि सबैलाई माडीमा राखिने उहाँले वताउनुभयो । माडी नगरपालिकाले स्वाब परिक्षणका लागि किट आँफैले खरिद गर्न सुरु गरेको छ । पहिलो चरणमा दुई सय पिसिआर किट खरिद गरिएको उहाँले जानकारी दिनुभयो ।
किट खरिदका लागि रु १० लाख बिनियोजन गरिएको छ । ढकालका अनुसार रकम अपुग भएमा थप गरिने छ । उहाँले थप्नुभयो “हामी संक्रमण मुक्त भएको प्रमाण हुने गरि परिक्षण गराएर मात्र घर पठाउँछौ ।” माडी नगरपालिकामा स्थापना गरिएका १२ वटा क्वारेन्टिन मध्ये पाँच वटामा मानिसहरु छन् ।
त्यहाँ २ सय ३४ जना रहेका छन् । नगरपालिकाको तथ्याङ्क अनुसार भारतमा मात्र २ हजार ८ सय माडीबासि रहेका छन् । तेस्रो मुलकमा यो संख्या १ हजार ४ सय रहेको नगरपालिकाका सूचना अधिकारी प्रबिण भण्डारीले जानकारी दिनुभयो । जिल्लामा पहिलो पटक माडी नगरपालिकाले भारतबाट मानिसहरु ल्याएको थियो ।