चितवन । चितवनका भरतपुर र कालिकामा दुई र गैंडाकोटमा दुई गरी थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कालिका नगरपालिका– ६ जुटपानीका २० वर्षीय पुरुष र भरतपुर–५ बस्ने २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु दुवैलाई भरतपुर कोरोना विशेष अस्थायी अस्पताल ल्याउने तयारी भइरहेको छ । संक्रमण पुष्टि भएकाहरु क्वारेन्टिनमा बस्दै आएका थिए ।

यस्तै भरतपुरमा गरिएको परीक्षणमा पूर्वी नवलपरासीको गैंडाकोटका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये गैंडाकोटा नगरपालिका–१३ का १३ वर्षीय पुरुष र वडा नं.१४ का २६ वर्षीय पुरुष रहेका छन् ।

यसअघि सोमबार एकैदिन चितवनका २३ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु सबैको अहिले कोरोना अस्पतालमा उपचार भइरहेको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएका एक पुरुषको भने हिजो नै मृत्यु भइसकेको छ ।

पछिल्लो समय चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । संख्या बढेसँगै संक्रमण फैलिने आशंकामा प्रशासनले कडाई गरेको छ ।

प्रतिक्रिया दिनुहोस !