चितवनः पर्यटकीय नगर सौराहामा रोटरी क्लब अफ रत्ननगरले निर्माण गरेको रोटरी क्लक टावर रत्ननगर नगरपालिका मार्फत वडा कार्यालयलाई सोमबार हस्तान्तरण गरिएको छ । क्लबका अध्यक्ष बिपिन पोख्रेलले नगर प्रमुख नारायण वन मार्फत वडा नम्बर ७ का अध्यक्ष लालवहादुर भट्टलाई टावर हस्तास्तरण गर्नु भएको हो ।
सो अबसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, नगरप्रमुख वन, क्लबका अध्यक्ष पोख्रेल संगै जुम एपबाट रोटरीका ड्रिष्टिक्ट ३२९२ का गभर्नर किरणलाल श्रेष्ठ, पूर्ब गभर्नर सञ्जय गिरी, अवाड कमिटि चियर नुगल आनन्द वैद्यले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
पोख्रेलका अनुसार ५० फिट अग्लो टावरमा चढेर सौराहा क्षेत्र अवलोकन गर्न सकीने छ । टावरमा रेलिङ् रहेको छ । टावरको माथिल्लो भागमा चारैपट्टि नेपालको समय दिने घडि राखिएको छ । सौराहा प्रबेश गर्दै गर्दा जो कोहीको ध्यान टावरले आकर्षण गर्ने पोख्रेलको भनाई छ ।
सो परियोजनाका प्रमुख जनक पौडेलका अनुसार हाल सम्म टावरमा रु ३३ लाख खर्च भई सकेको छ । टावर हस्तान्तरण गरिए पनि रेलिङ्, रंगरोगन, ढोका राख्ने काम र वगैंचा वनाउने काम बाँकी छ । सबै काम सम्पन्न गर्न रु ३५ लाख देखि ४० लाख सम्म खर्च हुने अनुमान छ । टावर निर्माणका लागि जिल्ला समन्वय समिति चितवनले रत्ननगर नगरपालिका मार्फत रु ९ लाख ५२ हजार प्रदान गरेको छ । बाँकी रकम दाता र रोटरीयनले संकलन गरेको पौडेलले जानकारी दिनुभयो ।