चितवनः जनप्रतिनिधिहरुले कोरोना बिशेष अस्पतालमा भएको चोरीको बिरुद्धमा वुझाएको किटानी जाहेरी दर्ता भएको छ । भरतपुर महानगरपालिकाका नेपाली कांग्रेससम्बद्ध जनप्रतिनिधिहरुले भरतपुर कोरोना विशेष(अस्थायी) अस्पतालको जिन्सी अपचलन (चोरी)काण्डमा मुछिएका कर्मचारीहरुलाई कारबाही गर्न माग गर्दै प्रहरीमा बुझाएको किटानी जाहेरी आज दर्ता भएको हो । घटनामा संलग्न कर्मचारीहरुलाई निलम्बन गर्न माग गर्दै आएका महानगरका उपमेयर तथा वडाध्यक्षहरुले मेयरले कारबाहीको विषयमा चासो नदेखाएको भन्दै आज जिल्ला प्रहरी कार्यालयमा जाहेरी बुझाएका थिए ।
वार्ताबाट समस्या समाधान गरौं भनेर लामो समयसम्म प्रयास गर्दा पनि वेवास्ता गरिएपछि महानगरको ईज्जत जोगाउन चोरीमा मुछिएका लाई कारबाही गर्न आफैले उजुरी दिएको भरतपुर–२१ का वडाध्यक्ष चित्रसेन अधिकारीले बताउनुभयो । उहाँका अनुसार उक्त उजुरीको दर्ता नम्बर ७६६ रहेको छ । उहाँले घटनाको अनुसन्धानगरी दोषीलाई कारबाही गर्न माग गरिएको बताउनुभयो । उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । उजुरी लिएर हिजै प्रहरी कार्यालय पुगेपनि आजमात्रै दर्ता भएको हो । वडा अध्यक्षहरु अधिकारी, चन्द्रमित्र पण्डीत र दामोदर न्यौपानेले संयुक्त रुपमा उजुरी बुझाउनु भएको हो ।
महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीले महानगरले घटनाको विषयमा प्रतिवेदन तयार पार्न आफ्नो नेतृत्वमा समिति बनाएपनि उक्त समितिले दिएको रायलाई वेवास्ता गरिएको बताउँदै आउनुभएको छ । प्रमुख एकतर्फी रुपमा अघि बढेको भन्दै उहाँले यसको बिरोधमा उत्रन बाध्य भयो ।
कोरोना अस्पतालको स्टोरबाट सामान अन्यत्रै लगिएको जस्तो देखिने सीसीटीभी फूटेज बाहिरिएपछि कांग्रेस वडाध्यक्षहरुले फूटेजमा देखिएका कर्मचारीलाई कारबाही गर्नुपर्ने माग राख्दै आएका थिए । फूटेजमा महानगरका लेखाअधिकृत फडिन्द्र खनाल र स्वास्थ्य कर्मचारी सूर्य तिवारीसहित भरतपुर अस्पतालका सञ्जय बराल देखिएका छन् । स्टोरबाट सामान चोरी गरी बिक्री गरेको आरोप उनीहरुलाई लागेको छ ।
फूटेजसँगै अस्पतालमा लाखौं अनियमितता भएको आरोप लागेपछि अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले अस्पतालमा छापा मारेर कागजात लगेको छ । मेयर दहाल र उहाँ निकटका वडाध्यक्षहरुले भने अख्तियारले अनुसन्धान गरिरहेको भन्दै अन्य अनुसन्धान तथा कारबाही तत्कालका लागि आवश्यक नरहेको बताउँदै आएका छन् । राय लिनका लागि उपमेयरको नेतृत्वमा बनेको समितिमा रहेका कानूनी सल्लाहकारहरुले समेत अख्तियारको निर्णय कुर्न राय दिएका थिए । तर कांग्रेस निकटका जनप्रतिनिधिले भने अख्तियारले चोरीको विषयमा नभई अस्पतालका अन्य कारोबारको विषयमा मात्रै अनुसन्धान गरिरहेको भन्दै महानगरले नै कारबाही गर्नुपर्ने अडान राखेका छन् ।
कोरोना अस्पतालको उक्त घटनासँगै दुई कित्तामा उभिएका भरतपुर महानगरपालिका मेयर र उपमेयरको टोली बीच पटक–पटक वार्ता भएपनि निष्कर्षमा पुग्न सकेको थिएन । महानगरले गरेको औपचारिक कार्यक्रमसमेत बहिस्कार गरेर आन्दोलनमा रहेका कांग्रेसका वडाध्यक्षको अगुवाइ गर्दै उपमेयर सडकसम्म पुगेकी थिइन् ।