चितवनः भरतपुर महानगरले नगर क्षेत्रको तीन स्थानमा स्मार्ट शौचालय निर्माण सुरु गरेको छ । भरतपुर महानगरपालिकाको आवतजावत वढि हुने चौबिसकोठी, गोन्द्राङ र रामनगरमा स्मार्ट शौचालय निर्माणको काम थालिएको हो ।
ती स्थानमा स्मार्ट शौचालय वनाउन लागिएको हो । भरतपुर महानगरपालिका वडा नम्बर–१२ स्थित रामबेल सामुदायिक बनमा रहेको राइनो चिल्ड्रेन पार्क परिसरमा शुक्रबार स्मार्ट शौचालयको शिलन्यास गरिएको छ । बागमती प्रदेशका सांसद विजय सुवेदी र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संयुक्त रुपमा स्मार्ट शौचालयको शिलान्यास गर्नुभएको हो । भरतपुर महानगर र प्रदेश सरकारको रु १ करोड २० लाखको लागतमा शौचालय निर्माण हुनेछ । निर्माणको जिम्मा ज्योति निर्माण सेवाले पाएको छ । स्मार्ट शौचालय सुबिधा सम्पन्न हुने छ । प्रदेशसभा सदस्य सुवेदीले भन्नुभयो “यसले भरतपुरलाई झन् स्मार्ट राख्न मदत्त गर्नेछ ।” उहाँले प्रदेश सरकार र भरतपुर महानगरपालिकाको साझेदारीमा भएका अधिकांश काम सफल भएको बताउनुभयो ।
भरतपुर महानगरको प्रवेश विन्दुमा रहेको राइनो पार्कले महानगर झल्कने भएकाले यसलाई आकर्षक र आधुनिक बनाईने छ । पार्कले महानगर र सामुदायीक बनको आयश्रोत समेत बढाउने उहाँको भनाई छ ।
पाँचौ नगरसभाबाट निर्णय गरेर प्रदेश सरकारसंगको साझेदारीमा शौचालय निर्माण गर्न लागिएको महानगर प्रमुख दाहालले बताउनुभयो । उहाँले राइनो पार्कको बिस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको र रु २ करोड ५० लाखको लागतमा पार्क निर्माणको लागत तयार भएको जानकारी दिनुभयो ।
शौचालयमा महिला र पुरुषको छुट्टाछुट्टै कोठासंगै अपाङग मैत्री समेत हुने महानगरकी आर्किटेक इन्जिनियर अस्मिता खनालले जानकारी दिनुभयो । उहाँले शौचालयको बाहिरी क्षेत्रमा स्मार्ट कार्ड कक्ष रहने र त्यहाँ सिक्का खसालेर शौचालय प्रवेश गर्न सकिने बताउनुभयो । लम्बाई ३३ फिट र चौडाई २२ फिटमा बन्ने शौचालय आकर्षक हुने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !