चितवनः आन्तरिक राजस्व कार्यालयमा अनलाईनबाट बिबरण र राजस्व बुझाउन सकीने भएको छ । कर दाताले बिक्रि भएका र अग्रिम कर काटेर राखेको रकम कर कार्यालयलाई असार ७ गते भित्र बुझाउन सूचना जारी गरेको छ ।

आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख शुभ प्रसाद रिजालले फागुन, चैत र वैशाखमा उठाएको मूल्य अभिबृद्धि कर र अन्तःशुल्क रकम असार ७ गते भित्र भूक्तानी गर्न सूचित गरिएको बताउनुभयो । उहाँका अनुसार अग्रिक कर कट्टि रकम र चैत महिनामा भूक्तानी गर्नु पर्ने चालु वर्षको दोस्रो किस्ताको आयकरको रकम पनि सोही समयमा भूक्तानी गर्नुपर्ने छ । लकडाउनको समयमा कर दाताले मूल्य अभिबृद्धि कर र अन्तःशुल्कको काम नगरेको भए पनि बिबरण भने बुझाउनु पर्ने छ ।

करदाताले उठाएर कार्यालयलाई तिर्न राखेको रकम मात्र भूक्तानी गर्न भनिएको उहाँको भनाई छ । लकडाउनले हिडडुल गर्न अफ्ठ्यारो परेमा आन्तरिक राजस्व बिभागको वेबसाईड www.ird.gov.np मा गई आँफुले भर्नु पर्ने बिबरण भरेर आफ्नो फर्मको खाताबाट सोझै राजस्व कार्यालयको खातामा भूक्तानी गर्न सकीने छ । जसका लागि अफ्ठ्यारो छ उनीहरुले सम्बन्धित बैंकबाट भूक्तानी गर्न सकीने उहाँले बताउनुभयो ।

लकडाउनका समयमा अतिरिक्त कर तिर्न नभनेको भन्दै उहाँले भन्नुभयो “कर दाताले कार्यालयलाई तिर्न बिभिन्न माध्यमबाट संकलन गरेको कर तिर्नु भनेको हो ।” फागुन अघिका महिनाका बिबरण र करका लागि भने म्याद थप नभएको उहाँले स्पष्ट पार्नुभयो ।

उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले अहिले लकडाउनै भएकाले कम्तिमा असार २५ गते सम्म समय दिनुपर्ने बताउनुहुन्छ । लकडाउनका कारण व्यवसाय वन्द भएकाले संकटको समयमा कर तिर्ने पैसा कर्मचारीको तलब लगाएतमा खर्च भएको भन्दै लकडाउन खुले पछि मात्र कर तिर्न सहज हुने उहाँले बताउनुभयो ।

यस कार्यालयमा करिब ६० हजार करदाता रहेका छन् । चितवन र नवलपुर जिल्ला हेर्दै आएको यस कार्यालयले गएको बैशाख सम्म रु २१ अर्ब राजस्व संकलन गरेको छ । त्यस अबधिको लक्ष्य रु ३५ अर्ब रहेको थियो । यस वर्षको लक्ष्य रु ४३ अर्ब रहेको छ ।

प्रतिक्रिया दिनुहोस !