चितवनः दुई बालबालिका माईतीमा छाडेर डा. शान्ती भूर्तेल नेपालले यतिवेला भरतपुर कोरोना बिशेष (अस्थायी) अस्पतालको नेतृत्व गरिरहनुभएको छ । भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आए पछि बैशाख १० गतेबाट सो अस्पतालको प्रमुख उहाँलाई तोकीएको छ ।
कपिलबस्तुको वाणगंगा स्थायी घर भएकी डा. शान्तीको माईती भरतपुरमै छ । माईतीमा ३ वर्षिया छोरी आरभी र ९ वर्षिय छोरा आरभलाई राखेर उहाँ भने कोरोना अस्पतालमा खटिरहनु भएको छ । सासु ससुराको निधन पछि श्रीमान डा. धिरेन्द्र नेपालको गत वर्ष निधन भए संगै परिवार आफैले सम्हाल्दै आउनु भएकी डा. शान्ती परिवारको व्यवस्थापनसंगै आफ्नो जिम्मेवारीमा खटिरहनु भएको छ ।
कोरोना अस्पतालमा केही दिन यता स्वाब संकलन गर्न छाडेपनि त्यहाँ रहेका चार जना संक्रमितको चौवीसै घण्टाको व्यवस्थापन उहाँको थाप्लोमा छ । उनीहरुको खानपान देखि स्वास्थ्य उपचार मात्र होईन त्यहा कार्यरत २७ जना कर्मचारीको खानपान र वसोबासको व्यवस्थापन उहाँ आँफैले गर्दै आउनुभएको छ ।
उच्च जोखीममा काम गर्नुपर्ने भए पनि संक्रमीत निको पार्न र संक्रमण सार्नबाट रोक्न उहाँको व्यवस्थापन प्रभावकारी देखिन्छ । दैनिक संक्रमीतहरुसंग टेलिफोन र भिडियो कलबाट उनीहरुको अबस्था उहाँले वुझ्ने गर्नुहुन्छ । कुनै समस्या भएमा तत्काल समाधान गर्ने उहाँको दैनिकीमा पर्दछ । उहाँले भन्नुभयो “दिउँसो त म अस्पतालमानै हुन्छु साँझ बिहान जतिवेला समस्या पर्छ त्यतिवेला यहाँ आउछु ।”
खाना देखि औषधि सम्मको चाँजोपाँजो आँफैले मिलाउनु पर्ने भएकाले चौबीसै घण्टा ध्यान अस्पतालमानै हुने उहाँले बताउनुभयो । डा. शान्ती बिरामी थपिदै गर्दा अस्पतालमा गर्ने व्यवस्थापनको पूर्ब तयारीमा यतिवेला जुटिरहनु भएको छ । गुनासो कसैको नआउने गरि व्यवस्थापनमा जुटेको छु उहाँले भन्नुभयो “सकेसम्म छिटो संक्रमण मूक्त भएर फर्काउन सकीयोस भन्ने चाहना छ ।”
संक्रमितसंग प्रत्यक्ष काम गर्ने स्वास्थ्यकर्मी र चिकित्सकलाई बिश्व स्वास्थ्य संगठनको निर्देर्शीका अनुसार काम गराउन उहाँ तल्लीन हुनुहुन्छ । जसका कारण संक्रमण उनीहरुलाई नफैलियोस भन्ने उदेश्यका साथ अस्पतालमा काम गरिरहेका उहाँले बताउनुभयो ।
उहाँले नेतृत्व गरेपछि अस्पतालले झण्डै ६ सयलाई सेवा दिईसकेको छ । स्वाब संकलन गर्दा संख्या बढी हुने गरेको थियो । अस्पतालको नेतृत्व गरिरहँदा स्वास्थ्यकर्मी, कर्मचारी होटेलको क्वारेन्टिनमा बसि रहेका छन् भने उहाँ अस्पतालकै आवासको क्वारेन्टिनमा बस्दै आउनुभएको थियो । दुई दिन अघि स्वाब परिक्षण गरि अहिले रातको समयमा छोरा छोरीसंगै माईतमा बस्दै आउनु भएको छ ।
माईतीका हजुरआमा, बुबा, आमा, वहिनिज्वाई, सबैको साथ र सहयोगकै कारण आँफु अस्पतालमा खट्न पाएको बताउनुभयो । उहाँले संक्रमण सर्न नपाओस भनेर सावधानी अपनाएरै काम गरेको बताउनुभयो । संक्रमित थपिंदै गर्दा उहाँ फेरी क्वारेन्टिनमै बस्नुपर्ने छ । उहाँ भन्नुहुन्छ “यो संकटको समयमा पारिवारिक पिडा र समस्या पन्छाएर स्वास्थ्यकर्मी, चिकित्सक कार्यक्षेत्रमा खटिएनौ भने कसले उपचार गर्दछ ।” एनेस्थेसिया नवौ तहकी भूर्तेल छोटो समयमा बिभिन्न अस्पतालको अनुभव हाँसीले गरिसक्नु भएको छ । उहाँले अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी, प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी, डा. प्रमोद पौडे, मेट्रोन शान्ता भण्डारी, शान्ती सापकोटा लगाएत सम्पूर्ण कर्मचारीको साथ र सहयोगका कारण काम गर्न आँफुलाई सहज भएको बताउनुभयो ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट तिवारी डा. भूर्तेलले कोरोना अस्पतालको व्यवस्थापन प्रभावकारी ढंगले गरिरहेको बताउनुहुन्छ । अहिलेको परिस्थितिमा चिकित्सक, स्वास्थ्यकर्मीमा जिम्मेवारी उच्च भएको भन्दै सबैले आ–आफ्नो कर्तव्य पुरा गरेमा संक्रमणबाट जोगिन सकीने उहाँको भनाई छ । परिवारिक पिडा भुलेर राष्ट्र र जनताका लागि सबैले डा. भूर्तेलका झै जोखिम मोलेर राष्ट्र सेवामा समर्पीत हुने वेला आएको छ ।