चितवनः विप्लव समूहका केन्द्रीय सदस्य अनिल शर्मा (विरही)ले जनताको अपेक्षा अनुरास सरकारले काम गर्न नसकेको बताउनुभएको छ । अहिलेको राजनीतिक व्यवस्था धेरै पर नजाने र जनताले विद्रोह गर्ने उहाँको भनाई थियो । भरतपुुर अस्पतालमा उपचाररत नेता बिरहीले पत्रकारहरु संग कुरा गर्दै जनताको अपेक्षामाथि सरकारले कुठाराघात गरेकाले अहिलेको दलीय व्यवस्था र संरचना धेरै अगाडि नजाने जिकीर गर्नुभएको हो ।
जनजीविकाका सवाल उठाउँदा सरकार सही ट्रयाकमा आउँछ भनेर आफूहरुको दलले गरेको आन्दोलनलाई दमन गरिएको नेता बिरहीले बताउनुभयो । ‘हामीले त राष्ट्रियता र जनजीविकाका सवाल उठाएका छौं, यी सरकारका एजेण्डा बनोस् भनेको छौं, सरकारले जनताको पक्षमा काम गरोस् भनेका छौं, तर उल्टै हामी माथि दमन गरेर सरकारले फाँसीवादी चरीत्र देखाएको छ,’ उहाँले भन्नुभयो । हामीले अहिलेको नेपालको संविधान र कानुनले दिएको अधिकारभन्दा बाहिर कुनै गतिविधी गरेका छैनौं उहाँको भनाई थियो ।
जनयुद्धका सहयात्रीसमेत रहेका गृहमन्त्री रामबहादुर थापा “बादल” विगतका अन्तरविरोधलाई लिएर अझै बढी दमनमा उत्रिएको बुझाइ नेता विरहीको छ ।
लिम्पियाधुरा, कालापानी लिपुलेक लगायतका एजेण्डा आफूहरुले उठाएको र सरकार अहिले त्यहीँ आइपुगेको नेता शर्माले बताउनुभयो ।
‘हामीले मागेको केही छैन, क्रान्ति चाहेको झोली थाप्नका लागि हैन, जनयुद्धले जे गर्ने भनेको थियो त्यो भएन, हामीले त्यही गर्ने हो,’ नेता विरहीले भभन्नुभयो, ‘अहिलेको क्रान्तिमा वीन–वीनको सम्भावना छैन । क्रान्तिमा एउटाले जित्छ ।’
एकीकृत जनक्रान्ति कसरी अगाडि बढ्छ त भन्ने प्रश्नमा नेता शर्माले भन्नुभयो “कांग्रेस, नेकपा, प्रहरी र सेनाभित्र उत्पीडनमा परेका राष्ट्रवादी र अग्रगमनकारीहरुसँग सहकार्य हुन्छ, विगत २०५२ को भन्दा नयाँ ढंगले अघि बढ्छ । समाज अघि बढ्ने, हामी पछाडि फर्किने भन्ने कुरा हुन्न । गाउँ र शहरबाट सबै जनतालाई एकीकृत गरेर शान्तिपूर्ण ढंगले नै क्रान्ति लैजान्छौं ।”
देशमा धार्मिक, जातिय र क्षेत्रिय द्वन्द्वको खतरा देखेका नेता बिरहीले यसको समाधान भौतिकवादलाई स्थापित गरेर मात्रै हुन सक्ने बताउनुभयो । सत्ता र सरकारको ध्यान द्वन्द्व घटाउने तिर नभई बढाउनेतिर उद्दत रहेको भन्दै नेता बिरहीले भन्नुभयो, ‘भएका उद्योगधन्दा बचेर खाने, युवालाई विदेश पठाउने, सामाजिक संरचना र सम्वन्ध विगार्ने, भएका युवालाई गाँजाको कारोबार गर्न लगाएर भष्ट्र र गजडी बनाउने र क्रान्तिमा लाग्दैनन् भन्ने मनोविज्ञान देखिन्छ ।’ उहाँले अहिलेको अर्थतन्त्र दलाल पूँजीपतिको मुठ्ठीमा रहेको र कमिसनबाट नै नेता चल्ने गरको आरोप लगाउनुभयो ।
गएको वैशाख २३ गते लडेर ढाडमा समस्या भएपछि पुरानो मेडिकल कलेज भरतपुरमा उपचार गर्न जाँदा प्रहरीद्वारा पक्राउ गरिएका नेता बिरही जेठ १८ गते जिल्ला अदालत चितवनको आदेशमा थुनामुक्त भैसकेका छन् । उहाँ अझै पनि अस्पतालमै उपचाररत हुनुहुन्छ ।