चितवनः जिल्लाका स्थानीय तह, प्रशासन, अस्पताल, राजनैतिक दलसंगै सरोकारवालाहरुको संयुक्त प्रयासले आज सम्म कोरोना भाईरस समुदायमा जानबाट रोकिएको छ । देशको ७८ औं जिल्लाको रुपमा परिचित यस जिल्ला कोरोना संक्रमणका हिसाबले उच्च जोखिममा छ ।
देशैभरका क्यान्सरका बिरामी उपचार गर्ने, छिमेकी जिल्ला सहितका जिल्लाका बासिन्दाको उपचारको थलो, देशका ७७ जिल्लाका बासीन्दाको वसाई रहेको यस जिल्ला हुँदै राजधानी प्रबेश र वाहिरीने गरिन्छ । भारतीय क्षेत्रबाट फर्कीएका नेपाली र त्यहाँबाट भित्रिएका खाध्यान्न सहितका सामाग्री यसै जिल्ला हुँदै आवतजावत गर्ने भएकाले पनि यो जिल्ला वढी जोखिममा रहेको देखिन्छ ।
भरतपुर अस्पताल संघिय अस्पताल हो । यसै अस्पतालको मातहतमा एउटा कोरोना अस्पताल र एउटा कोभिड १९ प्रयोगशाला संञ्चालनमा छ । भरतपुर अस्पतालमा १० शैयाको सघन उपचार कक्ष र आइसोलेसन निर्माण गरिएको छ । जहाँबाट तीन जनाले उपचार पाएर कोरोना जितिसकेका छन् ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी समयमै भरतपुर महानगरको अगुवाईमा स्थापना भएको भरतपुर कोरोना बिशेष अस्पताल, भरतपुर कोभिड १९ प्रयोगशाला संगै स्वास्थ्यकर्मी स्थानीय तह, दलहरु, प्रशासन सबैको सहकार्यले रोग फैलन नपाएको बताउनुहुन्छ । भरतपुर अस्पतालले उपचारको नेतृत्व गरिरहेको छ । अस्पतालमा डा. प्रमोद पौडेलको नेतृत्वमा पाँच सदस्यिय कोभिड १९ उपचार क्लिनिकल टिक गठन भएको तिवारीको भनाईछ । उहाँले लकडाउन प्रभावकारी हुँदा पनि रोग फैलन नपाएको बताउनुभयो ।
सोही अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी १ सय ३५ जना सम्मको उपचारका लागि भरतपुर अस्पताल आँफै सक्षम रहेको बताउनुहुन्छ । कोरोना अस्पतालमा ६० जना र भरतपुर अस्पतालमा ७५ जना संक्रमित राखेर उपचार गर्न सकीने उहाँको भनाई छ । यस संगै बिरामी थप भएमा मेडिकल कलेजहरु, निजि अस्पताल सहयोग गर्न तयार रहेको अधिकारीको भनाई छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालको नेतृत्वमा संक्रमण भित्रन नपाउँदै स्थापना गरिएको कोरोना अस्पताल र प्रयोगशालाको महत्व अहिले देखिन थालेको अधिकारी बताउनुहुन्छ । चैत ७ गते कोरोना अस्पाताल संञ्चालनमा आएको हो । भरतपुर महानगरपालिकाले स्थापना गरेको कोरोना अस्पताल भरतपुर अस्पताललाई हस्तान्तरण गरिसकिएको छ । कोरोना अस्पतालमा चितवन, मकवानपुर र नवलपरासीका संक्रमितले उपचार गराईरहेका छन् । प्रयोगशालामा मकवानपुर्, नवलपरासी र कपिलवस्तुका स्वाब पनि परिक्षण भैरहेको छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार हाल सम्म जिल्लाका १ हजार १ सय जनाको ¥यापिट डाईग्नोष्टिक टेष्ट र १ हजार ६ सय ९१ जनाको पिसिआर परिक्षण भैसकेको छ । संक्रमितको सम्पर्क, पहिचान र व्यवस्थापन नै रोग फैलनबाट रोक्न सार्थक भएको उहाँको ठम्याई रहेको छ । सरोकारवालाहरुको राम्रो समन्वयका कारण आजसम्म रोग फैलन नपाएको उहाँ बताउनुहुन्छ ।
जिल्लाका सात स्थानीय तहमा ९८ वटा वडा रहेका छन् । अधिकांश वडामा क्वारेन्टिन वनाउने काम भईरहेको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई हालसम्म जिल्लामा पाँच जना संक्रमित फेला परेको र ती मध्ये दुई जना निको भईसकेको बताउनुहुन्छ । हाल ३ जनाको उपचार भैरहेको छ ।
उहाँका अनुसार पाँचै जना बाहीरबाट आएका हुन । आज सम्म समुदायमा संक्रमण फैलन नपाएको उहाँले बताउनुभयो । सवैको साथ र सहयोगका कारण लकडाउन प्रभावकारी वन्न सकेको र संक्रमितको उपचार व्यवस्थीत भएकै कारण संक्रमण फैलन नपाएको भट्टराईको भनाई छ ।
राजनैतिक दल, स्थानीय तह, अस्पतालहरु संगै जिल्लाबासीको साथ र सहयोगले नै संक्रमण फैलन रोक्न प्रभावकारी वनेको देखिन्छ । जिल्ला समन्वय समिति चितवनले कोरोना संक्रमितको उपचारमा खट्ने चिकित्सक, स्वास्थ्यकर्मीको वसोवास र खानपानको व्यवस्था स्थानीय तहसंग मिलेर गर्दैछ । समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी चितवन सचेत नागरीकको बसोबास भएको जिल्ला भएको र यहाँका सरोकारवाला संघ संस्थाको प्रभावकारी गतिबिधिका कारण संक्रमण फैलन नपाएको वताउनुहुन्छ । जिल्लामा रहेका क्वारेन्टिनहरुमा हाल ५ सय ३० जना रहेका छन् ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल देशमै सबैभन्दा अघि यही कोरोना अस्पताल स्थापना गरिएको, प्रयोगशाला संञ्चालनमा ल्याईएको, क्वारेन्टिनहरु सके सम्म व्यवस्थित गरिएको, सिमा क्षेत्रमा रहेका जिल्लाबासी ल्याउने काम भैरहेको, सिमित स्रोत साधनका बाबजुत जनप्रतिनिधिहरु कार्यक्षेत्रमा खटिरहेको बताउनुहुन्छ ।
स्थानीय सरकार संगै दलहरु, स्थानीय प्रशासन, अस्पताल, स्वास्थ्यकार्यालय लगाएतको संयुक्त प्रयासकै कारण संक्रमण फैलन नपाएको दाहालको भनाई छ । उहाँले सबैले साथ र सहयोग गरेमा समुदायमा संक्रमण फैलनबाट रोक्न सकीने बताउनुभयो ।
जिल्लाका प्रमुख दलहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसका जिल्ला नेतृत्वले लकडाउन प्रभावकारी वनाउन पटक पटक सार्वजनिक रुपमा सन्देश प्रवाह गरिरहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार र नेपाली काङ्ग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठ सरकारले संक्रमण रोक्न गरेको आव्हान सबैले अक्षरंस पालना गर्नुपर्ने बताउनुहुन्छ ।
भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार हाल भरतपुर अस्पतालमा दुई जना र भरतपुर कोरोना अस्पतालमा चार जान संक्रमित उपचाररत छन् । कोरोना अस्पतालका तीन जना नवलपरासीका हुन भने अन्य तीन जना चितवनका हुन ।

प्रतिक्रिया दिनुहोस !