चितवनः पूर्बी चितवनको खैरहनीमा कोरोना भाईरस (कोभिड १९)को प्रकोप अन्त्यका लागि आज संसारिक पुजा लगाईएको छ । बिश्वभर महामारीको रुपमा फैलीएको यस भाईरसको प्रकोप अन्त्यका लागि खैरहनी नगरपालिका वडा नम्बर १० शान्ति बजार र राप्ती नगरपालिका वडा नम्बर ८ भवानीबजारका स्थानीयले मिलेर संसारिक पुजा लगाएका हुन ।
रोगव्याधीले आक्रमण गरेका वेला यस्तो पुजा गर्दा प्रकोप हट्ने विश्वासका साथ पुजा लगाईएको स्थानीय हरिप्रसाद सापकोटाले वताउनुभयो । रोगव्याधी फैलिएको वेला अग्रजहरुले पनि संसारिक पुजा लगाउने चलन रहेकाले अहिलेको कोरोना भाईरसको प्रकोप अन्त्यका लागि गाउँलेहरु मिलेर पुजा लगाईएको उहाँको भनाई छ । वि.सं. २०१७ सालमा पनि रोगको महामारी भएका वेला संसारिक पुजा लगाईएको अग्रजहरुले वताएको सापकोटाले जानकारी दिनुभयो ।
दुई जना पण्डितहरुले करिव ४ घण्टा लगाएर पुजा गराएका थिए । संसारिक पुजामा देवीको पुजा गर्ने गरिन्छ । पुजामा स्थानीय खेमप्रसाद दाहाल र राजु अधिकारी कर्ता रहनु भएको थियो । पुजा गाउँको नजिक फाँटमा लगाईएको थियो । पुजा लगाउने भएपछि स्थानीयले स्वतस्फुर्त रुपमा सहयोग गरेका थिए ।
चीनको बुहानबाट सुरु भएको कोरोना भाईरसको प्रकोप अहिले विश्वव्यापी रुपमा फैलिएको छ । यसबाट तीन लाख भन्दा वढिको ज्यान जानुका साथै लाखौ प्रभावित भएका छन् । नेपालमा पनि कोरोना भाईरसका कारण १ हजार ४ सय १ जना संक्रमित भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस !