काठमाडौंः रुकुम पश्चिम र देवदहमा अन्तरजातीय विवाहको विषयलाई लिएर दलित युवा र दलित युवती सहित ६ जनाको ज्यान गएको घटनाप्रति संयुक्त राष्ट्र संघअन्तर्गतको मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर)ले गम्भीर चासो व्यक्त गरेको छ ।

ओएचसीएचआर प्रमुख मिशेल ब्याचलेटले हिजो जेनेभाबाट विज्ञप्ति जारी गर्दै दुवै घटनामा शोक व्यक्त गर्दै स्वतन्त्र अनुसन्धान गर्नुपर्ने बताएकी हुन ।

नेपाल सबै प्रकारको जातीय विभेद उन्मूलन सम्मेलनको एक पक्ष राष्ट्र भएको स्मरण गराउँदै मिशेलले नेपालमा छुवाछूतको अन्त्य भएको भनिएपनि दलितहरूले गहिरो भेदभावको सामना गरिरहेका र यसले अन्तरजातीय विवाहसम्बन्धी मुद्दाहरूको बारेमा धेरै चिन्ताहरू पनि उठाएको औंल्याएकी हुन ।

जातीय भेदभाव नेपालमा मात्र नभएर अन्य देशहरूमा पनि व्याप्त रहेको र यसले प्रायः गम्भीर क्षति निम्त्याउने हुँदा दिगो विकास लक्ष्य हासिल गर्न जातीय विभेद अन्त्य हुनुपर्ने मिशेलले उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस !