काठमाडौं : अमेरिकी सहयोग कार्यक्रम मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) को कार्यक्रमलाई बजेटमा राखेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०मा विवाद सुरु भएको छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टीमा निर्णय नभई एमसीसीलाई बजेटमा घुसाएकोमा आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड शुक्रबार साँझ बालुवाटार पुगेका थिए । भेटवार्ता लगतै थप छलफल गर्न भोलि विहान ९ बजे सचिवालय बैठक समेत बोलाइएको छ ।
सरकारले बिहीबार संसदमा आगामी आर्थिक वर्ष २०७७र७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेश गरेको थियो ।
बजेटको लप्सीफेदी–रातामाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण निर्माण बढाइने उल्लेख छ र अन्तरदेशीय प्रशारण निर्माणका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन गरिएको छ ।
बजेटमा एमसीसी भनिएको छैन । तर ठूलो रकम विनियोजन गरेकाले एमसीसीलाई नै अगाडि बढाउन खोजेको देखिन्छ । सरकारले नीति तथा कार्यक्रममा पनि ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण निर्माण अघि बढाउने भनेको थियो ।
लगतै नेकपाको एमसीसी कार्यदलका संयोजक झलनाथ खनाल र सदस्य भीम रावलले आपत्ति जनाएका थिए । आफूहरुको कार्यदलले परिर्माजन नगरी सम्झौता संसदबाट अनुमोदन गर्न नसकिने निष्कर्ष निकालेको भन्दै दुबैले पार्टीमा छलफल नगरी एमसीसी सम्झौता अगाडि नबढाउन आग्रह गरेका थिए ।
नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले एमसीसी अनुमोदन गर्ने नगर्ने संसदको हातमा भएको बताएका थिए । साथै एमसीसी अनुमोदन नभए सरकार आफैंले अन्तरदेशीय प्रशारण लगानीमा लगानी गर्ने बताएका थिए ।
तर बजेट आउँदा एमसीसी अगाडि बढाउने गरी आएको भन्दै सचिवालय सदस्यहरुले नै आपत्ति जनाएका छन् । एक नेता भन्छन्, ‘पार्टीमा निर्णय नै नभएको विषय बजेटमा आएको छ । तरलाई तत्काल फिर्ता लिनुपर्छ भन्ने हाम्रो प्रष्ट मत छ ।’
यसबारे भोलिको बैठकमा थप छलफल हुने उनले बताए ।