
चितवनः जिल्लाको पूर्बी क्षेत्रमा लगाईएको चैते धानमा धानको घाँटी मरुवा र पात डडुवा रोग देखिएको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार खैरहनी र रत्ननगर नगरपालिकामा लगाईएको चैते धानमा यस्तो समस्या देखिएको हो ।
कार्यालयका बालि संरक्षण अधिकृत पूर्णीमा क्षेत्रीका अनुसार सो क्षेत्रमा लगाईएको हर्दिनाथ एक र पिआर धानमा समस्या देखिएको हो । यस धानमा गत वर्ष पनि यो समस्या देखिएको थियो । बातावरण अनुकुल हुन नसक्दा र रोग सहन सक्ने क्षमता कम भएको धानमा यो समस्या देखिने गरेको हो ।
अहिले खैरहनी नगरपालिकामा लगाईएको पाँच सय हेक्टर क्षेत्रफल र रत्ननगरमा फाट्टफुट्ट रुपमा समस्या देखिएको उहाँले जानकारी दिनुभयो । ढुसिका कारण धानमा यो समस्या आउने उहाँले बताउनुभयो । अहिले लगाईएको धानमा रोग सहन सक्ने क्षमता कम हुने हुँदा रोगले सहजै आक्रमण गरेको उहाँको भनाई छ । बाला निस्कनु अघि ढुसिनासक बिषदी छर्नु पर्ने हुन्छ । कृषकहरुमा ज्ञानको कमिका कारण बिषादी नराख्दा समस्या भएको उहाँले जानकारी दिनुभयो ।
धानमा देखिएको समस्या समाधानका लागि कार्यालयले आकस्मिक बालि संरक्षण सेवाबाट काम गरिरहेको छ। कार्यालयका प्रमुख राजन ढकालले स्थानीय तहहरुसंग सहकाय गरि रोग नियन्त्रणका लागि काम भईरहेको बताउनुभयो । स्थानीय तहमा रहेका कृषि शाखाहरुलाई यस विषयमा पूर्ब जानकारी गराईएको भए पनि रोग लागे पछि नियन्त्रणका लागि प्रयोग गर्ने बिषादी, मात्रा र बिधिका बारेका कृषकलाई जनाकारी गराउँदै आएको उहाँले जानकारी दिनुभयो ।
अहिले जिल्लामा ६ हजार हेक्टर भन्दा वढिमा चैतेधान लगाईएको छ ।