चितवनः कृषि तथा वन बिज्ञान बिश्व बिद्यालय रामपुरमा उपकुलपति,रजिष्टार, डिन लगाएतको पदावधी सकीदाँ समेत नियुक्त हुन नसक्दा विश्वविद्यालय अस्तव्यस्त वन्दै गएको छ ।
विश्वविद्यालयको उपकुलपति गएको भदौ ६ गतेबाट रिक्त भएको छ । रजिष्टार माघ १२ गतेबाट र दुईवटा संकायका डिन जेठ १ गतेबाट खाली छ । त्यस्तै आर्थिक प्रशासन महाशाखा प्रमुख, पाठ्यक्रम निर्देशक जस्ता महत्वपूर्ण अधिकारीहरु खाली छन् । विश्वविद्यालय सञ्चालन गर्ने कार्यकारी परिषदको सात सदस्य मध्ये १ जना विधिवत रुपमा रहेका छन् ।
कृषि तथा वन विज्ञान विश्वबिद्यालयको अर्को व्यवस्था नभए सम्मका लागि तत्कालिन डिन शारदा थपलियालाई उपकुलपतिको जिम्मेवारी दिईएको छ । उहाँलाई दैनिक कार्य व्यवस्थापन गर्नका लागि मात्र जिम्मेवारी दिईको हो ।
थपलियाले पूर्ण जिम्मेवारी नपाउँदा दिर्घकालिन महत्वको काम गर्न नमिलेको र रजिष्टार नहुँदा आर्थिक र प्रशासनीक काममा समस्या देखिएको वताउनुभयो । रजिष्टार खालि हुँदा सापट लिएर कर्मचारीको तलव खुवाउनु परेको बताउँदै उहाँले अन्य विकास निर्माणका काममा अवरोध पुगेको बताउनुभयो । आर्थिक वर्ष सकीन लागेकाले यस वर्षको हरहिसाब मिलानको काममा पनि समस्या हुने देखिएको छ । उपकुलपति नियुक्ती भएमा चार वर्ष कार्ययोजना वनाएर काम गन सक्ने भए पनि त्यसो हुन सकेको छैन । कामु अबस्थामा रहेकी थपलियाले जेठ १ गतेबाट रिक्त रहेका डिन पदमा सहायक डिनलाई कायम मुकायम नियुक्त गरेको बताउनुभयो ।
विश्वविद्यालयको संस्थापक रजिष्टार प्रा.डा. सूर्यकान्त घिमिरे दैनिक जिम्मेवारी पाएको व्यक्तिले आँफुखुशी जिम्मेवारी दिनेै नमिल्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो “कायम मुकायमलाई अरु कायम मुकायम नियुक्ति गर्ने अधिकार हुँदैन ।”विश्वबिद्यालयको अधिकांश अंगले काम गर्न छाडेको भन्दै उहाँले बिश्वबिद्यालयका महत्वपूण नियुक्तीहरु नभएपछि तथर्तबादबाट विश्वविद्यालय चलिरहेको बताउनुभयो । विश्वविद्यालय संञ्चालन गर्ने मुख्यनिकाय नै नभएपछि कसरी विश्वविद्यालय चल्छ उहाँको प्रश्न छ ।
यस अघिका २ वर्ष पनि विश्वविद्यालयमा बिभिन्न खालका वन्द, हड्तालका कारण आधा भन्दा वढि समय विश्वविद्यालयको पठनपाठन हुन सकेको थिएन । विश्वविद्यालयका सस्थापक उपकुलपति प्रा.डा. कैलाशनाथ प्याकुरेल सरकारले उच्च शिक्षलाई प्राथमिकतामा नै नराखेको बताउनुहुन्छ । अन्य विश्वविद्यालयको उपकुलपति नियुक्त हुँदा यहाँको नहुनु दुःखद रहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “ कृषि विश्वविद्यालयलाई खासै बास्ता नगरेको देखियो ।”
रजिष्टारले प्रशासन र आर्थिक पाटो हेर्ने हुँदा रिक्त हुँदै गर्दा समस्या आउने उहाँको भनाई छ । सिफारिस नै नभएको हो वा भएर पनि नियुक्ती नभएको हो आफुलाई जानकारी नभएको उहाँले बताउनुभयो ।
कृषि क्षेत्रको महत्व वढीरहेको समयमा विश्वविद्यालय अस्तव्यस्त हुँदै जाँदा चिन्ता व्यक्त गर्न थालिएको छ । वि. सं. २०६७ असारमा सरकारले कृषि शिक्षाको अध्ययन, अनुसन्धान र प्रसारलाई एकीकृत रुपमा अघि वढाउन यस विद्यालय स्थापना गरेको हो ।

प्रतिक्रिया दिनुहोस !