चितवनः माडी नगरपालिकाले खेत बाँझो राख्नेलाई जरिवाना गर्ने भएको छ । माडी नगरपालिकाको दोस्रो नगरसभाको निर्णयानुसार कृषि शाखाले खेतीयोग्य जग्गा बाँझो राखे वार्षिक प्रतिकठ्ठा रु १ हजार जरिवाना गर्ने जनाएको छ ।
कृषि शाखाले सूचना प्रकाशन गरि बाँझो जग्गा राख्नेलाई कृषि शाखाबाट प्राप्त हुने अन्य सेवा सुविधाबाट समेत वञ्चित गरिने जनाएको छ । निम्न आर्थिकस्तर भएका कृषकहरुका लागि नगरपालिकाले कृषि कर्ममा थप प्रोत्साहन गर्ने जनाएको छ ।
माडी नगरपालिकाका प्रमुख ढकालले युवालाई वेरोजगार हुन नदिनका लागि खेती योग्य जमिन बाँझो राख्न नदिन लागिएको बताउनुभयो । कृषकलाई खेती गर्दा नगरपालिकाले अनुदानको व्यवस्था समेत गरेको छ । माछा पालनका पकेट क्षेत्रको रुपमा रहेको माडी नगरपालिकामा माछा पालनका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ४ करोड अनुदानको व्यवस्था समेत गरेको उहाँले जानकारी दिनुभयो ।
माडी नगरपालिका चितवन राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्रले घेरीएको नगरपालिका हो । जुन देशकै उर्भर क्षेत्र मानिन्छ ।
नगरपालिकाका कृषि शाखा प्रमुख किरण प्रसाद उपाध्यायले भन्नुभयो “कम्तिमा मूलबाली लगाउनुपर्छ ।” साउनदेखि नगरपालिकाले जग्गा अवलोकन गर्ने भन्दै उहाँले जग्गा बाँझो रहे कारवाही हुने बताउनुभयो ।
उहाँका अनुसार नगरपालिका भित्र खेतीयोग्य जग्गा खाली हुन नदिन कडाई गर्न खोजिएको हो । विघौँ जग्गा किनेर खाली छोड्ने गरेको पाईएकाले नगरपालिकाले जग्गा बाँझो राख्न नदिनका लागि कारवाहि अभियान सुरु गर्न लागेको हो । कृषि उत्पादन गर्न ती जग्गा स्थानीयलाई कमाउन दिन प्रेरित समेत गरिने छ ।
माडीमा हाल ४३ हजार ३ सय ६५ जनसंख्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस !