चितवनः गैंडाकोट नगरपालिकाले बाँझो जमिन खोजेर आँफै खेती गर्ने भएको छ । नगरपालिकाका वडा कार्यालयहरु मार्फत बाँझो जग्गाको खोजी गरि आफ्नै लगानी आफ्नै उत्पादन अभियान सुरु गर्न लागिएको हो ।
नगरपालिकाका प्रमुख छत्रराज पौडेलका अनुसार कार्यपालिकाको बैठकबाट निर्णय गरि काम अघि वढाईएको छ । वडा कार्यालयहरुले पाँच कठ्ठा भन्दा वढि बाँझो छोडिएको जमिनको तथ्याङ्क संकलन गर्न सुरु गरेका छन् । यस लगत्तै नगरपालिकाले आँफ्नै लगानीमा स्थानीय मजदुरहरुलाई रोजगारी दिएर खेती गर्न सुरु गर्ने छ । उत्पादीत बस्तुहरु प्रचलित वजार मूल्यमा बिक्रि गर्ने गरि व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो ।
पहिलो चरणमा ४० बिगाह जमिन हाराहारीमा खेती गर्ने तयारी गरिएको छ । सो पश्चात यसको प्रभावकारीतालाई हेरेर थप जग्गाको खोजि गरिने छ । पूर्ण रुपमा बाँझो जग्गामा खेती गर्दा चार हजार हाराहारीले रोजगारी पाउने पौडेलको भनाई छ । सम्बन्धित जग्गा धनिले खेती नगरी बाँझो राखेमा सो जग्गामा नगरपालिकाले खेती गर्ने भएको हो ।

जग्गाको पहिचान गरि नगरपालिकाले सिचाई नभएका ठाउँमा सिचाईको व्यवस्थापन गरि खेती गर्ने छ ।
नगरपालिकाले कृषि फर्म, पशु पालन जस्ता कार्यमा अनुदान दिदै आएको छ । नेपालकै नमुना नगर वनाउन बाँझो जमिन राखेर सम्भव नहुने पौडेलले वताउनुभयो । उहाँका अनुसार देशभरमै सबैभन्दा वढि दुध उत्पादन हुने नगर गैंडाकोट हो ।

गैंडाकोट नगरपालिकामा १८ वटा वडा रहेका छन् । हाल नगरपालिकाको जनसंख्या ६५ हजार रहेको छ । लकडाउनका कारण देशमानै खाध्य संकट निम्तन सक्ने भन्दै समयमानै सावधानी अपनाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस !