काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी सही नीति, विधि, पद्धतिमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

पार्टी एकताको दुईवर्ष पूरा भएको सन्दर्भमा वक्तव्य निकालेर उहाँले सुदृढ एकताका लागि आह्वान गर्नुभयो । नेकपा एकता भएको आजै दुई वर्ष पूरा भएको छ । २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी एकीकरण भएर नेकपाको पादुर्भाव भएको थियो ।

“हामीले दुई ठूला कम्युनिष्ट पार्टीहरू तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकीकरण ग¥यौं । आम निर्वाचन सम्पन्न ग¥यौं । संविधानलाई कार्यान्वयन गर्ने सन्दर्भमा केन्द्र, प्रदेश र स्थानीय सरकार गठन गर्यौंं । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार सञ्चालित छ र यो सरकारको माध्यमबाट हामीले सुखी नेपाली, समृद्ध नेपाल निर्माण गर्ने अभियानलाई अगाडि बढाइरहेका छौं । यी असाधारण उपलब्धीहरू हुन । तर इतिहासले हाम्रो काधमा राखी दिएका दायित्वहरू पूरा गर्ने मार्गमा ठुल्ठूला चुनौतीहरू पनि देखा परिरहेका छन । यस्तो अवस्थामा पार्टीलाई सही नीति, विधि र पद्धतिका आधारमा अघि बढाउनु पर्छ । थप मजबुत र एकताबद्ध पार्टी निर्माण गर्न पार्टी एकीकरणलाई अविलम्ब पूरा गर्नुपर्छ र समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नु पर्छ,” खनालले सन्देशमा भन्नुभएको छ ।

विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) लाई पराजित गर्नको लागि सरकारको प्रयत्न र प्रयास निरन्तर जारी रहेको बताउँदै खनालले प्रकोप नियन्त्रण गर्न सबै एकजुट हुनुपर्ने खाँचो पनि औंल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस !