काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले भ्रष्टाचारी कसैलाई पनि नछाड्ने बताउनुभएको छ। संघीय संसद्को संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शुक्रबार उहाँले भ्रष्टाचार गर्ने कसैलाई पनि उम्कन नदिने भन्दै सरकारले भ्रष्टाचारविरुद्धको कारबाहीलाई तीव्रता दिएको बताउनुभयो ।
“ भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न जो कोहीले उम्किन पाउने छैनन् । भ्रष्टाचारमा संलग्नलाई कारबाही तीव्र पारिएको छ,” उहाँले भन्नुभयो । सुशासन कायम गर्न सरकार क्रियाशील रहेको भन्दै उहाँले पारदर्शिता अपनाउँदै जवाफदेहिताविहीन अवस्थालाई अन्त्य गरिएको पनि बताउनुभयो ।
त्यस्तै, उहाँले राष्ट्रिय हितको संवर्द्धनका लागि परराष्ट्र नीति बनाइएको पनि बताउनुभयो । राष्ट्रसंघको वडापत्र, असंलग्न पश्चशील सिद्धान्तका आधारमा राष्ट्रिय हित प्रवर्द्धन गर्दै परराष्ट्र सम्बन्ध विस्तार गरिरहेको उहाँको भनाई थियो ।
समृद्ध नेपाल अघि बढ्छ
राष्ट्रपति भण्डारीले विषम परिषस्थितिमा पनि समृद्ध नेपालको अभियान अघि बढ्ने बताउनुभयो। खानेपानी सरसफाइ लगायतमा सबैको समवेशीकरण गराइने भन्दै उहाँले शिक्षा तथा स्वास्थ्यमा सरकारको भूमिकालाई थप प्रभावकारी बनाउँदै निजी क्षेत्रलाई प्रोत्साहित गर्ने बताउनुभयो।
राष्ट्रपति भण्डारीले २०८७ साल अगावै दिगो विकासको लक्ष्य हासिल गर्दै विकासशील राष्ट्र बन्ने र २०९९ सालसम्म समुन्नत राष्ट्र बनने गरी सामाजिक र आर्थिक कार्यक्रम अगाडि बढाइएको पनि उनले जानकारी गराउनुभयो । सरकारले कृषि उत्पादन १० वर्षमा दोब्बर पार्ने र यसका लागि पूर्वाधारमा लगानी बढाउने उनले बताउनुभयो ।