
चितवनः लकडाउनका कारण कतिपय मजदुरलाई दैनिक गुजाराको समस्या परेको छ । तर यहाँका मजदुर भने व्यवसायी बनेका छन् । लकडाउन अघि मजदुरीमा लागेकाहरु अहिले तरकारी, फलफूल र हरियो मकै जस्ता वस्तुको बिक्री गर्ने व्यवसायमा लागेका छन् । मजदुरहरुले आफै ठेला, रिक्सा, साईकल किनेर त्यसमार्फत् घरघरमा सामान पु¥याउन थालेका हुन् ।
साईकलमा रु. तीन सयको टोकरी (क्रेट) राखेपछि उनीहरुको व्यवसाय शुरु हुने गरेको छ । कालिका नगरपालिका वडा नं. ४ का सोम थापामगर ट्रिपरका चालक हुनुहुन्थ्यो । लकडाउनसँगै ट्रिपर चल्न छोडेपछि आजभोलि उहाँ तरकारी व्यवसायी बन्नु भएको छ ।
पदमपुर क्षेत्रमा उत्पादित तरकारी खरिद गरेर भरतपुर क्षेत्रमा बिक्री गर्नु उहाँको अहिले दैनिकी बनेको छ । दैनिक रु. ७÷८ सय बचाउन सकिने उहाँको भनाई छ । जुन तरकारी बिक्री हुन्छ त्यही तरकारी किनेर ल्याउने गरेको उहाँले बताउनुभयो । बिहान २÷३ घण्टा समय दिएपछि त्यति कमाई हुने थापामगरको भनाई छ ।
पदमपुरका सोम थापामगरको घरमा रहेको सानो किराना पसल सामानको अभाव चल्न पाएको छैन । तर उहाँले आजभोलि तरकारीको व्यापार गर्न थाल्नु भएको छ । किराना पसलमा नगदमा सामान ल्याएर उधारोमा बाढ्नु भन्दा बिहानको समयमा तरकारी बिक्री गर्दा त्यसले बढी फाईदा हुने गरेको उहाँले बताउनुभयो ।
भरतपुर क्षेत्रमा ईरिक्सा चलाउँदै आउनु भएका विष्णु कार्की यतिबेला हरियो मकै बिक्री गर्न व्यस्त हुनुहुन्छ । ईरिक्सा नचलेपछि बिहानै पश्चिम चितवन र गैंडाकोट पुगेर बारीबाटै मकै ल्याएर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । राम्रो मिहिनेत गरे एकै दिन रु.८÷९ सय कमाई गर्न सकिने उहाँले बताउनुभयो । बिहान दुई÷तीन घण्टा खट्दा यति आम्दानी हुने गरेको उहाँको भनाई छ ।
नारायणगढमा रहेको महानगर फलफूल तथा तरकारी बजार लकडाउनसँगै बन्द गरिएको छ । जसका कारण स्थानीय उत्पादन उपभोक्तासम्म लैजान समस्या भईरहेका बेला थपिएका यस्ता व्यापारीले घरघरमा तरकारी र फलफूल पु¥याउन थालेपछि उपभोक्ता लाभान्वित भएका छन् भने स्थानीय उत्पादनले बजार पाएको छ ।
सो बजारका प्रबन्ध निर्देशक एवं फलफू तरकारी थोक व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष थिरप्रसाद धिताल घरघरमा तरकारी बिक्री गर्नेको संख्या बढेको बताउनुहुन्छ । उहाँका अनुसार कागती, आलु, प्याज, खरबुजा जस्ता केही भारतीय उत्पादन उनीहरुले बेचेको भए पनि अन्य स्थानीय उत्पादनलाई घरघरमा पु¥याउन थालेका हुन् । मजदुरी गर्नेहरुले व्यवसाय गर्न थालेको उहाँले बताउनुभयो ।
बजार बन्द रहेका बेला उनीहरुका कारण उपभोक्ताले आवश्यक तरकारी, फलफूल किन्न पाएको धितालले बताउनुभयो । कतिपयले ठेलामा तरकारी, फलफूल बिक्री गर्ने गरेका छन् । ठेला नहुनेले साईकल पछाडि क्रेट बाँधेर वा डोको झुण्ड्याएर पनि व्यवसाय गरिरहेका छन् ।
अण्डा र जिउँदो कुखुरा घरघरमा पु¥याउनेहरुको संख्या पनि बढ्दो छ । जिल्लामा एक चरणको राहत वितरणपछि राहत वितरण गरिएको छैन । लकडाउनको समयमा राहतको पर्खाईमा भन्दा गुजारा टार्न व्यवसायमा लाग्नेहरु बढ्दै गएका छन् ।
जिल्लाको कालिका नगरपालिका क्षेत्रमा केरासँगै तरकारी पाईन्छ भने पश्चिम चितवन तरकारीको पकेट क्षेत्र हो । पूर्वी चितवनका विभिन्न क्षेत्रमा पनि तरकारी पाईन्छ । यद्यपी यहाँ बिक्री गर्नेहरुले कालिका नगरपालिका र भरतपुर महानगरपालिकाभित्रका उत्पादनलाई बजारमा ल्याउने गरेका छन् । हरियो मकै भने गैंडाकोटबाट पनि ल्याउने गरिएको छ ।
लकडाउनको सदुपयोग गर्न सकेमा जीविकोपार्जन गर्न गाह्रो छैन भन्ने सन्देश यहाँका मजदुरहरुले दिएका छन् ।