
चितवनः मंगलबार विहान भरतपुरको पुरानो मेडीकल कलेजबाट प्रहरीले नियन्त्रणमा लिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता अनिल शर्मा ‘विरही’ अहिले प्रहरीको घेरामा रहेर आफ्नो उपचार गर्दै आउनु भएको छ । उपचारका क्रममा नियन्त्रणमा लिईएको विरहीको निगरानीको लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी अधिकृत सहितको टोलि नै खटाएको छ ।
अहिले भरतपुर अस्पतालमा क्याबिनमा राखेर उपचार गराई राखिएको छ । उहाँ लडेपछि ढाडको उपचार गर्ने क्रममा मंगलबार कलेज अफ मेडिकल साईन्सेस भरतपुरमा प्रहरीले निगरानीमा राखेको थियो । सो पश्चात् साँझ उहाँलाई भरतपुर अस्पतालमा ल्याईएको हो । अस्पताल ल्याए पछि उहाँलाई कडा निगरानीमा राखिएको छ । प्रहरीले उहाँलाई पत्रकार देखि कसैलाई पनि भेटघाट गर्न दिईएको छ । केही मानवअधिकार कर्मीलाई भेटघाटका लागि सिमित समय मात्रै दिईएको छ । अन्यलाई आदेश छैन भन्दै भेटघाट र कुराकानीको लागि समेत प्रहरीले बन्चित गराएको छ ।
ढाडको उपचार गर्न आउनु भएका विरहीको मधुमेह, मृगौला, थाईराईड र प्रेसरको पनि उपचार भईरहेको छ । अस्पतालको क्याबिन नं. ३०२ मा प्रहरीको निगरानीमा उहाँको उपचार भईरहेको छ । अस्पताल विकास समितिका अध्यक्ष एवं बरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीका अनुसार उहाँको रोग अनुसार विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्ने काम भईरहेको छ ।
अधिकारीका अनुसार विरहीलाई मधुमेह, मृगौला, थाईराईडको समस्या पहिले नै थियो । लडेपछि उच्च रक्तचापको समेत समस्या देखिएको छ । आजबाट सोको पनि औषधि प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “भरतपुर अस्पतालमा पाउने सबै विशिष्ट सुविधा दिएर उहाँको उपचार गरिरहेका छौं ।”
अस्पतालका हाडजोर्नी तथा नशा रोग विभागका प्रमुख डा. श्रवणकुमार थापाका अनुसार उहाँको मेरुदण्डको हड्डी थोरै मात्र धसिएको छ । अहिले उहाँलाई आरामको आवश्यकता रहेको भन्दै उहाँले नदुख्ने औषधि मात्रै दिईएको बताउनुभयो । उहाँको फिजियोथेरापी गरिने थापाले बताउनुभयो ।
विरहीलाई अध्यक्ष डा. अधिकारीसहित फिजिसियनको समूहले पनि स्वास्थ्य परीक्षण गरिरहेको छ । उहाँको समस्या अनुसार विशेषज्ञ चिकित्सकले पालो मिलाएर परीक्षण गरेको अस्पतालले जनाएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले उहाँको भरतपुर अस्पतालमा उपचार भईरहेको बताउनुभयो । आवश्यक सम्पूर्ण उपचारमा कुनै कमी हुन नदिने उहाँले जानकारी दिनुभयो ।
पार्टीको मर्यादाक्रममा छैठौं तहका नेता विरही हाल प्रकाशन विभागका प्रमुख हुनुहुन्छ । भूमिगत अवस्थामा राप्ती नगरपालिका वडा नं. १० समिटारमा रहेको अवस्थामा घरको लिस्नुबाट झर्ने क्रममा उहाँ लडेर ढाडमा समस्या आएको हो । उक्त समस्यापछि उपचारका लागि भरतपुरस्थित कलेज अफ मेडिकल साईन्सेसमा आएको समयमा प्रहरीले निगरानीमा राखेको हो । प्रहरीले नै साँझ उहाँलाई भरतपुर अस्पताल ल्याएको छ ।
विरहीका परिवारले अस्पतालमा आवश्यक सम्पूर्ण उपचार भईरहेको जनाएका छन् । विरही रत्ननगर नगरपालिका वडा नंं ५ निवासी हुनुहुन्छ । बाल्यकालदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय ५० वर्षिय विरही लामो समयदेखि भूमिगत रहँदै आउनु भएको थियो । सर्वहारा श्रमिक संगठनबाट राजनीति शुरु गर्नुभएका विरही नेकपा (एकताकेन्द्र), नेकपा (माओवादी) अहिले विप्लव निकट नेपाल कम्युनिष्ट पार्टीको राजनीतिमा सक्रिय हुनुहुन्छ ।