मुख्यमन्त्री पौडेलद्वारा दासढुंगा क्षेत्रको अवलोकन

चितवन : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज (मंगलबार) जिल्लाको दासढुंगा क्षेत्रको अवलोकन गर्नुभएको छ । त्यस क्षेत्रको समग्र विकासका लागि मुख्यमन्त्री पौडेलले अवलोकन गर्नुभएको हो ।

नेकपा (एमाले) का तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनास्थल दासढुंगाको विकासका लागि प्रदेश सरकारको चासो दिंदै आएको छ । मदन भण्डारी फाउण्डेशन चितवनको संयोजनमा प्रदेश सरकारले यस अघि नै सो क्षेत्रको विकासको प्रारम्भिक प्रतिवेदन तयार पारिएको छ । ती योजनालाई विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने र सोही अनुसार विकास गर्दै जाने उद्देश्यले मुख्यमन्त्री पौडेलले अवलोकन गर्नुभएको हो ।

फाउण्डेशनको पहलमा दासढुंगा–नारायणी एकीकृत विकास परियोजनाको अवधारणा अगाडि सारिएको छ । सो अवधारणा अनुसार दासढुंगा, समग्र नारायणी नदीको किनार, गाँदीपुर हुँदै गोलाघाटसम्म विकास पूर्वाधारको काम गर्ने योजना रहेको छ ।

दासढुंगामा राष्ट्रियस्तरको पार्क, सभा हल, तालिम हल, म्युजिम लगायतका पूर्वाधार निर्माण गर्ने योजना रहेको छ ।

मुख्यमन्त्री पौडेलले दासढुंगा क्षेत्रमा उपलब्ध हुन सक्ने जमिनलाई एकीकृत गरी आवश्यक पूर्वाधार निर्माण गर्दै जाने बताउनुभयो ।

अवलोकनमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयाल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपिया, प्रदेश सभा सदस्यहरु दीपक निरौला, विजय सुवेदी, कृष्ण भूर्तेल, फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराई, उपाध्यक्ष शम्भु सुवेदी लगायत सहभागी हुनुहुन्थ्यो ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer