
चितवनः हरेक वर्षको विकास निर्माणका काम गर्ने मुख्य समयमा लकडाउन शुरु भएपछि रोकिएका कामलाई यहाँका स्थानीय तहले निरन्तरता दिन थालेका छन् । उच्च सावधानी अपनाउँदै पालिकाहरुले सहजीकरण गरेर काम शुरु गरेका हुन् ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार महानगरपालिकाले आवश्यक सहजीकरण गरेर विकास निर्माणको काम अगाडि बढाएको छ । महानगरपालिकामा सडक कालोपत्रे, ग्राभेल, ढल निर्माण, वडा कार्यालय भवन निर्माण जस्ता काम शुरु भएका छन् । जोशीका अनुसार रु. एक अर्ब हाराहारीको विकासका काम यस वर्ष महानगरले गर्दै छ । आधा जति काम सकिएको भए पनि बाँकी काम सकेसम्म सक्नका लागि सहजीकरण गरिएको उहाँले जानकारी दिनुभयो ।
महानगरमा धेरै काम सडक कालोपत्रेको छ । महानगरभित्रै चार वटा अस्फाल्ट (तयारी अलकत्र) बनाउने उद्योग रहेका छन् । तिनै उद्योग सञ्चालन गरी काम अगाडि बढाईएको छ । महानगरले शहरी विकास, सडक विभाग, सिंचाई विभाग अन्तर्गतका आयोजनाका कामका लागि पनि सहजीकरण गरिरहेको उहाँले बताउनुभयो ।
महानगरपालिकाका नौ वटा वडा कार्यालय भवन निर्माण एवं मर्मत सम्हार भईरहेका छन् । ती काम पनि अगाडि बढाईएको छ । निर्माण कम्पनीहरुलाई आवश्यक कच्चा पदार्थ व्यवस्थापनमा सहयोगसँगै सवारी र मजदुर हिड्डुलका लागि ईजाजतको व्यवस्था महानगरले गरेको छ ।
राप्ती नगरपालिकामा पनि काम थालिएको छ । नगर प्रमुख प्रभा बराका अनुसार अत्यावश्यक र अधुरा आयोजनालाई उच्च प्राथमिकतामा राखिएको छ । सो क्षेत्रमा तटबन्धन, कुलो, सडक कालोपत्रे, ढल, सडक ग्राभेल जस्ता विकासका आयोजना रहेका छन् ।
बरालका अनुसार चालु आर्थिक वर्षमा रु. ४७ करोडको विकास बजेट विनियोजन गरिएको छ । जसमध्ये ८० प्रतिशत हाराहारीको सम्झौता भई आधा काम सम्पन्न भईसकेको छ । बाँकी सम्झौता गर्ने र कामलाई तीब्रता दिन नगरपालिकाले आवश्यक सहजीकरण गरिरहेको उहाँले जानकारी दिनुभयो ।
ईच्छाकामना गाउँपालिकाले पनि कोरोना भाईरसको संक्रमणसँग जोगिंदै काम थालेको छ । गाउँपालिकाका अध्यक्ष गीता गुरुङले पुल, खानेपानी, सडक जस्ता पूर्वाधारका काम अगाडि बढाउन थालिएको बताउनुभयो । विद्युतीकरणको काम भने शुरु हुन सकेको छैन ।
सामाजिक दूरी कायम गरी स्थानीय मजदुरहरुलाई रोजगारी हुने गरी काम अगाडि बढाईएको छ । सोही गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले विकासका कार्यक्रम अगाडि बढाउँदा राहत दिनु पर्नेहरुको संख्या घट्ने बताउनुभयो ।
भरतपुर महानगरपालिका वडा नं. ११ मा आईतबारबाट सडक कालोपत्रेको काम नै थालिएको छ । वडा अध्यक्ष बाबुराम अधिकारीले निर्माण कम्पनीहरुलाई सहयोग गर्न सकेमा विकासका कामसँगै स्थानीयले रोजगारी पाउने बताउनुभयो ।
संक्रमण फैलिन नलिन विश्व स्वास्थ्य संगठनको मापदण्ड अबलम्बन गर्दै काम थालिएको अधिकारीको भनाई छ ।
जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका रहेका छन् । सबै पालिकाहरुले विकासका काम अगाडि बढाउने तयारी गरिहेका छन् । यससँगै नारायणी, राप्ती जस्ता नदीमा तटबन्धनका काम, मानिसको कम चाप हुँदा गर्नै पर्ने सडकका काम, पुलका कामलाई प्राथमिकतामा राखेर निर्माण कम्पनीहरुलाई काम लगाईएको छ ।