चितवनः रत्ननगर नगरपलिकाले लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने जनता मर्कामा परेको अवस्थामा बाँझो जमिन जोतेर सामूहिक खेती गर्न उत्प्रेरित गरेको छ ।
नगरपालिकाले विपन्न वर्गका जनतालाई खेतीका लागि प्रोत्साहित गर्न बाँझो जग्गा जोतेर दिन सुरु गरेको हो । रत्ननगर नगरपालिकाले राहत वितरणसंगै नगरपालिका क्षेत्रभित्र रहेको प्लटिङ तथा अन्य सार्वजनिक जग्गामा विपन्न वर्गका जनतालाई खेती गर्न प्रोत्साहित गर्न बाँझो जग्गा जोतेर दिन सुरु गरेको छ ।

ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका विपन्न समुदायलाई उत्पादनशील क्षेत्रमा अग्रसर बनाउने उद्देश्यले नगरपालिकाले बाँझो जमिन जोतेर सामूहिक खेती सुरु गराएको छ ।

रत्ननगर नगरपालिका वडा नं १४ पिठुवामा विगत एक दशकदेखि बाँझो रहेको करिब ३० विगाहा जमिन जोतेर खेती गर्न सुरु गरिएको वडाध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सामूहिक खेतीका लागि विपन्न वर्गको समूह बनाएर जग्गा बाँडबाँड गरिएको छ । सामूहिक खेती गर्न वडाभित्रका करिब ३ सय परिवारलाई समेटेर ५० वटा समुह बनाइएको छ ।

बाँझो जग्गा जोत्ने काम सकिएकाले अब खेती गरिने जनाईएको छ । लकडाउनका कारण ज्याला मजदुरी गर्न नपाएका विपन्न समुदायलाई उत्पादनशील क्षेत्रमा लगाउने योजनासहित सामुहिक खेती सुरु गरिएको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले बताउनुभयो ।

जग्गा बाँझो रहने अनि समस्या पर्दा सरकारले राहत दिनुपर्ने अवस्था भएकाले खेतीका लागि प्रोत्साहित गर्न नगरपालिकाले यो अभियान सुरु गरेको उहाँले बताउनुभयो ।

नगरपालिकाले यसअघि नै बाँझो जग्गा राख्नेलाई जरिवाना गर्दै आएको छ । नगरपालिकाले बाँझो जमिन जोत्नको लागि तेल खर्चसँगै मकै र बोडीको बीउ उपलब्ध गराएको छ ।

खेती गर्न निःशुल्क जग्गा, बीउ र जोत्न तेल खर्चसमेत स्थानीय सरकारले उपलब्ध गराएपछि वडाभित्रका विपन्न वर्ग उत्साहित भएका छन् ।

यसअघि नगरपालिकाले करिब ८२ लाखको राहत वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !