चितवनः लकडाउनको समयमा वन क्षेत्रमा तस्करी वढे संगै वनको सुरक्षामा कडाई गरिएको छ । डिभिजन वन कार्यालय चितवनले लकडाउनको मौका छोपि काठ तस्कर गर्ने तीन जनालाई पक्राउ गरेको छ । कार्यालयका प्रमुख पदमराज नेपालका अनुसार उनीहरुलाई १० थान साईकल, १ थान मोटरसाईकल र २ सय ४० क्यू फिट काठ सहित पक्राउ गरिएको हो । पक्राउका क्रममा अन्य व्यक्तिहरु भागेका छन् ।
गर्दास र शक्तिखोर क्षेत्रको बरण्डाभार क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई वन ऐन अन्तर्गत मुद्धा दर्ता गर्ने तयारी गरिएको नेपालले बताउनुभयो । अहिले अनुसन्धानको काम भईरहेको छ ।
कार्यालयका योजना शाखा प्रमुख सहायक वन अधिकृत बालकृष्ण खनालले बरामद भएका काठ र साइकल, मोटरसाइकललाई डिभिजन वन कार्यालय, सबडिभिजन कार्यालय रहेका शक्तिखोर, पदमपुरमा सुरक्षित राखिएको छ । तस्करका गिरोहनै नियन्त्रण गर्न गस्तीलाई प्रथामीकता दिईएको उहाँले बताउनुभयो । उहाँका अनुसार लकडाउनकै समयमा घाइते, टुहुरा तथा असहाय वन्यजन्तु (चित्तल, बँदेल, मृग आदि) को उद्वार तथा उपचारका क्रममा ७ वन्जन्तुको मरेका छन् । लकडाउनकै बेला डिभिजन वन कार्यालय मातहतको १ सय २६ हेक्टर वन क्षेत्रमा लागेको वन डढेलो नियन्त्रण गरिएको उहाँले बताउनुभयो ।

लकडाउनको समयमा वन क्षेत्रमा तस्करी वढे संगै गस्तीलाई तिब्र पारिएको छ । हिडडुल गर्न नपाउने भए पछि वन क्षेत्रमा अबैध रुपमा छिर्नेहरुको संख्या बढ्दै गएको डिभिजन वन कार्यालय चितवनले जनाएको छ ।
लकडाउनको समयमा शहरबाट गाउँ आएकाहरु घाँस दाउरा गर्न वन क्षेत्र जाने र उनीहरु संगै तस्करहरु पनि पस्ने भएकाले नियमीत गस्ति संगै टुर गस्ती समेत सुरु गरिएको हो । कार्यालयका प्रमुख नेपालका अनुसार कर्मचारीहरु नियमीत रुपमा वन भित्रको बिभिन्न क्षेत्रमा गरीने गस्ती (टुर गस्ती) लाई तिब्र वनाईएको छ । तस्करी गरेको जानकारी भए संगै तत्काल पुग्ने गरि कार्यालयमा कर्मचारी तयारी अबस्थामा राखिएको नेपालको भनाई छ ।
वन पैदावर कटानी, चोरी निकासी, वन्यजन्तुको शिकार हुने क्रम बढ्न थालेपछि वन क्षेत्रमा निगरानी बढाईएको हो । स्थानीय प्रशासन, जनपथ प्रहरी, शसस्त्र प्रहरी बलको सहयोग समेत लिदै गस्तीलाई बलियो बनाईएको छ । वन उपभोक्ता समूह र वन समूहलाई समेत चनाखो रहन आग्रह गरिएको छ ।
अरुबेलाको तुलनामा लकडाउनको समयमा वन निशानामा पर्न थालेको नेपालले बताउनुभयो । उहाँले भन्नुभयो “गाउँवस्तीमा चहलपहल कम भएको मौका छोपेर काठ तस्करी हुन थालेको छ, नियन्त्रण गर्न हामी चनाखो छौँ ।”
जिल्लामा कोराक, राप्ती, खैरहनी, कालिका, खगेडी, हरिपुर, भरतपुर, इच्छाकामना सहित ८ सबडिभिजन कार्यालय छन् । ९१ सामुदायिक, ४ सय ३१ वटा कबुलियती वन जिल्लामा रहेका छन् । डिभिजन वन कार्यालय अन्र्तगत ५७ हजार ६ सय ५० हेक्टर वन क्षेत्र पर्छ । जसमध्ये सामुदायिक वनतर्फ २१ हजार ५ सय हेक्टर, कबुलियती वन १ हजार ५ सय ६१ हेक्टर, वरण्डाभार संरक्षित वन १० हजार ३ सय २ हेक्टर, धार्मिक वन १० हेक्टर छ । जिल्लामा शसस्त्र वन रक्षक २३ र वन रक्षक २४ जना छन् । अधिकांश वनहरुमा हेरालु राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस !