चितवनः नेपाली कांग्रेस चितवनले भरतपुर कोरोना अस्पतालमा रहेका सामग्री चोरी गर्ने कर्मचारीहरुलाई तत्काल निलम्बन गर्न माग गरेको छ । जिल्ला सभापतिसहितको टोलीले आज प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै चोरीमा संलग्न कर्मचारीलाई तत्काल निलम्बनगरी कारबाही गर्न माग गर्नुभएको हो ।
मुलुकको असहज परिस्थितिमा आपसी सहमति र सहकार्यमा संकट समाधानमा लाग्नुपर्नेमा सत्ता र शक्तिको आडमा भ्रष्टाचारजन्य कृयाकलापमा सहभागि बन्नु गम्भीर मानवीय अपराध भएको भन्दै ज्ञापनपत्रमा घटनामा संलग्नलाई कारबाही गर्न माग गरिएको छ ।
साथै कांग्रेसले सर्वपक्षीय अधिकार सम्पन्न छानविन समिति गठन गरी अस्पतालमा हालसम्म भएका आर्थिक गतिविधिहरुको विवरण सार्वजनिक गर्न माग गरेको छ । “अन्याथा यी सबै गतिविधिको जिम्मेवार भरतपुर महानगरपालिका र भरतपुर अस्पताल हुनेछ”, सभापति श्रेष्ठले भन्नुभयो ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । छानविन समिति बनेको भन्दै उनले सत्य कुरो छिट्टै बाहिर आउने बताउनुभयो ।
भरतपुर कोरोना अस्पतालको स्टोरबाट सामान रातीको समयमा सामान निकाल्दै गरेको भिडियो हिजो सार्वजनिक भएको थियो । सामान चोरीमा जिम्मेवार कर्मचारी नै संलग्न रहेको भन्दै उनीहरुलाई कारबाही गरिन चौतर्फी दबाब बढेको छ । भिडियोमा अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामान बाहिर निकालेको प्रष्ट देखिन्छ । भट्टराईले केही व्यक्तिको पहिचान भएपनि अन्य व्यक्तिको विषयमा अनुसन्धान भइरहेको बताए ।