
गोरखाः यहाँ एउटा लोपोन्मुख गिद्ध भेटिएको छ । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा पर्ने चुमनुव्री गाउँपालिका ३ को सिर्दिवास नाक्चेतमा लोपोन्मुख गिद्ध भेटिएको हो ।
एक स्थानीयवासीको घरमा बिरामी अवस्थामा गिद्ध फेला परेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) का प्रमुख नरेन्द्र लामाले जानकारी दिनुभयो । लोपोन्मुख गिद्धकोे उद्धार गरिएको गरिएको छ ।
घरमा गिद्ध आएर बसेपछि बुधबार स्थानीयवासीले सिर्दिवासको फिलिममा रहेको मनास्लु संरक्षण क्षेत्रको कार्यालयलाई जानकारी गराएको थिए । कार्यालयमा जानकारी आएलगत्तै कर्मचारी पठाएर गिद्धको उद्धार गरिएको प्रमुख लामाको भनाइ छ ।
“घरमा भेटिएको गिद्ध उड्नसमेत नसक्ने अवस्थामा थियो”, उहाँले भन्नुभयो, “गिद्धले आहार नपाएर हो वा बिरामी भएर हो स्पष्ट भएको छैन । लोपोन्मुख गिद्धलाई संरक्षणका लागि पिँजडाभित्र राखिएको छ ।” फेला परेको गिद्ध चितवनको पक्षी संरक्षण सङ्घ नेपालले संरक्षण गरेको राखेको उहाँको भनाइ छ ।
‘फेला परेको गिद्धको खुट्टामा ३९ नम्बरको ट्यागसमेत लगाइएको रहेछ’, प्रमुख लामाले भन्नुभयो, “अहिले भेटेरेनरी चिकित्सकको सल्लाह अनुसार आहार दिएर राखिएको छ ।” गिद्ध फेला परेलगत्तै सौराहामा रहेको जैविक विविधता संरक्षण केन्द्रलाई समेत जानकारी गराइ सकिएको उहाँले जानकारी दिनुभयो । अहिले गिद्धको स्वास्थ्य अवस्था सुधार हुँदै गएको लामाले बताउनुभयो ।