चितवनः लकडाउनको समयमा नारायणगढ–मुग्लिन सडक खण्डको जलबिरेको पुलको कामलाई निरन्तरता दिईएको छ । बर्षात अघि ढलान र तारले बान्ने काम सम्पन्न नभए यस अघि वनाईएका संरचनामा समेत क्षती पुग्ने भए पछि कामलाई निरन्तरता दिईएको हो ।
मुग्लिन–नारायणगढ सडक आयोजनाका ईन्जिनियर शिब खनालका अनुसार १५ जना मजदुरले अहिले नियमीत काम गरिरहेका छन् । मजदुर थप्न नसकिए पनि पहिले देखिनै काम गर्दै आएका मजदुरलाई क्वारेन्टाईनमा राखेर काम गराईएको छ । पुलमा अहिले ढलानका लागि सेन्टिङ् र रड बाँध्ने काम भईरहेको छ । खनालले भन्नुभयो “नियमीत काम गर्न सकेमा र सामाग्री पाएमा बैशाखको २०÷२२ गते सम्ममा हामी ढलान गर्छौ ।”
ढलान संगै सो पुलको बिममा तारले कस्नुपर्ने हुन्छ । बर्षात अघि यति गरेमा हाल सम्म भएको काम सुरक्षित हुने खनालले जानकारी दिनुभयो । तर तार कलकत्ताबाट ल्याउनु पर्ने हुन्छ । बिगत पाँच वर्ष यता नेपालका ४० मिटर भन्दा लामो पुलमा तारले बिमहरुमा कस्ने गरि डिजाईन गरेर काम गर्दै आईएको छ ।
नारायगढ–मुग्लिन सडक फराकीलो बनाईएको भए पनि त्यहाँ रहेका १९ वटा पुल साँघुरा थिए । सडक ९ मिटर देखि ११ मिटर सम्म फराकीलो बनाईएको छ । पुल भने ५ देखि ६ मिटर सम्म मात्र फराकीलो रहेका छन् । सडकको पूर्ननिर्माण सकिए सगै चारवटा पुलको निर्माणकार्य शुरु गरिएको थियो । जसमध्ये दासढुङ्गा, खानी र मौरी पुलको निर्माण कार्य सकिएपनि जलविरे पुलको भने अहिले सम्म ६२ प्रतिशत मात्रै काम सकिएको आयोजनाले जनाएको छ । रु १३ करोड ९५ लाख लागत रहेको जलविरे पुल ८० मिटर लम्वाइ र ११ मिटर चौडाईको हुने छ ।
डिसेम्वेर, २०१७ वाट निर्माण शुरु गरिएको पुल सम्झौता भएको २१ महिनामा निर्माण सकिनुपर्ने हो तर निर्माणका क्रममा पटक पटक डिजाईन परिवर्तन गर्नुपर्दा ढिलाई भएको हो । पुल निर्माण गर्ने स्थान अफ्ठ्यारो ठाँउ भएकाले कामगर्दै डिजाइन परिवर्तन गर्दै गर्नुपरेको खनालले जनाकारी दिनुभयो ।
जलविरे मन्दिर सगै जोडेर वनाइएको यो पुल निर्माण सम्पन्न भएपछि नारायणगढ–मुग्लिन सडकको दुरी ३०० मिटर घट्ने छ । अहिले यो सडक ३६ किलो मिटर दुरीको छ । राजधानी काठमाडौं प्रबेश र बाहिरिने प्रमुख सडक भएकाले यो सडकमा सवारी चाप उच्च छ । दैनिक १० जार सवारी साधन आवतजावत गर्ने जनाईएको छ ।