चितवनः नेपाल प्रेस युनियन चितवनले रु ३ लाख बराबरको पत्रकार राहत कोष स्थापना गरेको छ । कोरोना महामारीलाई लक्षित गरी युनियनले आन्तरिक स्रोतबाट रकम व्यवस्थापन गरी राहत कोष स्थापना गरेको हो । आज दिउसो बसेको ‘अनलाइन बैठक’ ले सो निर्णय गरेको युनियनले जनाएको छ ।
युनियन चितवनका अध्यक्ष अनिल ढकालको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरिएको छ । कार्यदलमा निवर्तमान अध्यक्ष नारायण अधिकारी, केन्द्रीय सदस्य तथा पूर्वअध्यक्ष बसन्त पराजुली रहनुभएको छ । यस्तै बैठकले पत्रकार सहयोग समिति समेत गठन गरेको छ । कार्यसमिति सदस्य राजु चौधरीको संयोजकत्वमा तीन सदस्यिय समिति गठन गरेको हो । समितिको सदस्यहरुमा शुशिल पन्त, हरि पौडेल रहनुभएको छ । कोषाध्यक्ष विप्लव काफ्लेको संयोजकत्वमा तीन सदस्यिय राहत कोष अभिवृद्धि समिति समेत गठन गरेको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
ढकालले कोरोना महामारीका बेला समस्यामा परेका पत्रकारलाई सहयोग गर्न राहत कोष बनाइएको जानकारी दिनुभयो । “पत्रकारलाई खान, बस्न केही समस्या भए तत्कालै राहत दिने गरी तयारी गरेका छौँ”, उहाँले भन्नुभयो “समस्या छन् भने खबर गर्नु, आवश्यक पहल गरिनेछ ।” उहाँले सहयोग लिने पत्रकारको विवरण गोप्य राखिने भएकाले समस्याबारे जानकारी दिन आग्रह गर्नु भयो । उहाँले अतिआवश्यक परेमा मात्र फिल्डमा जान पत्रकारलाई अनुरोध समेत गर्नुभएको छ ।
बैठकले समाचार संकलन गर्न जाँदा सुरक्षित भएर मात्र जानका लागि समेत आग्रह गरेको छ । जिल्लामा कोरोना संक्रमण देखिई सकेको भन्दै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ । कार्यक्षेत्रमा जाने पत्रकारलाई संञ्चार गृहले आवश्यक सुरक्षाका सामाग्री उपलब्ध गराइदिन, पारिश्रमीक समयमा दिन र ढुक्क संग समाचार सम्प्रेषणको बातावरण वनाईदिन स्थानीय प्रशासन संग युनियनले माग गरेको छ ।
साथै वैठकले राहत कोषमा सहयोग गरिदिन समेत सबै संग आग्रह गरेको छ ।